काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते आयोजना गर्ने भएको छ। दुई दशकको व्यावसायिक यात्रा पूरा गरेको यस बैंकले सभामा लाभांश वितरणको प्रस्ताव लैजाने निर्णय गरेको छ।
बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि मात्र शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्मको वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप रु. ७००.४४ अर्ब पुगेको छ भने कुल कर्जा लगानी रु. ४७६.८४ अर्ब रहेको छ। बैंकको चुक्ता पुँजी रु. ३८.११६ अर्ब कायम भएको छ। सो अवधिमा बैंकले रु. ६.०३६ अर्ब खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको निक्षेपमा २१.८० प्रतिशत र कर्जा लगानीमा ८.२२ प्रतिशतले वृद्धि भएको छ।
बैंकले हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ।
