काठमाडौं। रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई बुझाएको विवरणअनुसार उक्त बाढीमा परी ४४१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएका छन्।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्न सरोकारवाला निकायहरूसँग तथ्याङ्क माग गरेको थियो। सोही आग्रहअनुसार महासङ्घले असोज ५ गते प्रारम्भिक विवरण विभागलाई उपलब्ध गराएको हो। महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले चीनको तिब्बती भू-भागबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति भएको बताए।
प्राप्त विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका २१७ सवारी साधन र २५१ जना, नारायणी यातायात व्यवसायी सङ्घका ५८ सवारी साधन र ७८ जना, तराई यातायात व्यवसायी सङ्घका २१ सवारी साधन र ३५ जना, ट्रक यातायात व्यवसायी सङ्घ नेपालका १० सवारी साधन र २० जना, गण्डकी ट्रक व्यवसायी सङ्घका २१ सवारी साधन र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका ११ सवारी साधन र २२ जना सम्पर्कविहीन छन्।
नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार विवरण सङ्कलन जारी रहेकाले बेपत्ताको सङ्ख्या अझै बढ्न सक्नेछ। महासङ्घले बाढीबाट प्रभावित व्यवसायी तथा परिवारका लागि राहत, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यसअघि भदौ २६ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा एक समिति गठन गरी क्षतिको मूल्याङ्कन र क्षतिपूर्तिको आधारबारे प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
