काठमाडौं: गत भदौ १० गते रसुवाको टिमुरे क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीका कारण ३३८ वटा मालवाहक ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई बुझाएको प्रारम्भिक विवरणअनुसार उक्त घटनामा परी ४४१ जना चालक, सहचालक र व्यवसायी सम्पर्कविहीन भएका छन्।
यातायात व्यवस्था विभागले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्न सरकारी तथा निजी निकायहरूसँग तथ्यांक माग गरेको थियो। सोही आग्रहपछि महासंघले आफ्ना सदस्य संस्था र कम्पनीहरूबाट संकलन गरेको विवरण विभागलाई बुझाएको हो।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाका अनुसार भदौ १० गते बिहान चीनको तिब्बती भू-भागबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। महासंघले बुझाएको विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका २१७ वटा सवारीसाधन र २५१ जना व्यक्ति सम्पर्कविहीन छन्।
त्यस्तै, नारायणी यातायात व्यवसायी संघका ५८ वटा सवारीसाधन र ७८ जना, तराई यातायात व्यवसायी संघका २१ वटा सवारीसाधन र ३५ जना, तथा ट्रक यातायात व्यवसायी संघ नेपालका १० वटा कन्टेनर र २० जना बेपत्ता रहेका छन्।
यसैगरी गण्डकी ट्रक व्यवसायी संघका २१ वटा सवारीसाधन र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन भएको महासंघले जनाएको छ।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले विवरण संकलन कार्य जारी रहेकाले बेपत्ता सवारीसाधन र व्यक्तिको संख्या अझ बढ्न सक्ने बताएका छन्।
महासंघका अध्यक्ष बाँनियाले प्राप्त विवरण प्रारम्भिक रहेको र थप तथ्यांक आएमा त्यसलाई पनि समावेश गरिने जानकारी दिए। उनले सरकारसँग प्रभावित व्यवसायी तथा पीडित परिवारका लागि राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्। यातायात व्यवस्था विभागले यसअघि नै क्षतिको मूल्यांकन र क्षतिपूर्तिको आधार तय गर्न एउटा समिति गठन गरिसकेको छ।
