काठमाडौं। मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका र आसपासका स्थानमा शुक्रबारदेखि हिमपात भइरहेको छ । हल्का वर्षासँगै सुरु भएको हिमपातका कारण उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरला क्षेत्रमा हिमपात जारी छ । मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार वर्षा र हिमपातको सम्भावना रहेकाले उक्त क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेका थिए । सोही सूचनाका आधारमा बेनी-जोमसोम-कोरला सडक खण्डमा असोज ८ देखि ११ गतेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
पश्चिमी वायुको प्रभावले मुस्ताङका विभिन्न भागमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।
