दाङ। बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण दाङका किसान आफ्नो पाक्न लागेको धानबाली जोगाउन चिन्तित बनेका छन्। हावाहुरीसहितको भारी वर्षाले धानबाली ढल्ने र उत्पादनमा ह्रास आउने डरले उनीहरूलाई सताएको छ।
घोराही उपमहानगरपालिका-१६ मघैका किसान नगेन्द्र चौधरीले वर्षभरिको जोहो यही धानबालीबाट हुने भएकाले बालीमा क्षति पुग्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “यत्तिकै पानी पर्दा त केही हुँदैन, हावाहुरी र भारी वर्षा आयो भने धानलाई ठुलो क्षति पुर्याउन सक्छ।” यसैगरी घोराही-१७ गुलरियाका सीताराम चौधरीले लामो समयको वर्षाले धान ढल्ने र उत्पादन घट्ने जोखिम रहेको उल्लेख गर्नुभयो।
नदी किनारका किसानलाई भने वर्षासँगै बढ्ने बहावले जमिन कटान गर्ने अर्को त्रास थपिएको छ। घोराही-६ लख्वारका निमबहादुर चौधरीका अनुसार बौरही खोलामा पानीको बहाव बढेपछि खेत कटान हुने जोखिम बढेको छ। राप्ती र बबई नदी आसपासका बासिन्दासमेत वर्षाका कारण उच्च सतर्कतामा रहेका छन्।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गर्दै सर्वसाधारणलाई नदीमा पानीको बहाव बढेमा वा असामान्य आवाज सुनिएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ। साथै, अत्यावश्यक कामबाहेक रात्रिकालीन यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ।
