काठमाडौं। अविरल वर्षा, पहिरो र खोलामा बढेको पानीको बहावका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
सडक विभागले शनिबार बिहान ९:३० बजे जारी गरेको विवरण अनुसार दर्जन बढी मुख्य सडकहरूमा गम्भीर अवरोध सिर्जना भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङ लगायतका स्थानमा पहिरो खस्दा यातायात पूर्ण रुपमा बन्द भएको छ। विभागले पहिरो पन्छाउने कार्य सुरु गरेको छ। त्यस्तै, बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडा खण्डमा पहिरो जानुका साथै डाइभर्सन बगाएकाले सडक अवरुद्ध छ।
कर्णाली राजमार्गको गगने खोला र नाग्म-जुम्लाको राँका क्षेत्रमा खसेको पहिरोका कारण यातायात ठप्प छ। सिद्धिचरण राजमार्गको ओखलढुङ्गा-सल्लेरी खण्डमा सडक भासिएकाले सवारी आवागमन रोकिएको छ। विभागले थप वर्षा नभएमा आज बेलुकीसम्म ब्याक कटिङ गरी सडक सुचारु गर्ने प्रयास गरिरहेको छ। कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर आंशिक रूपमा सञ्चालनमा आए पनि ललितपुरका केही स्थानमा काम जारी छ।
मध्यपहाडी राजमार्गको निसी गाउँपालिका-कानाबगर खण्डमा लेदोसहितको पहिरो खसिरहेको छ भने कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका-८ बेलबगरमा ठूलो पहिरो गएको छ। तमोर करिडोरका छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेकाले सडक बन्द छ। राप्ती राजमार्गको कपुरकोट र बागलुङ-बेनी सडकको हुलाके क्षेत्रमा पहिरो हटाउन मेसिन परिचालन गरिएको छ। भालुवाङ-चकचके-लिवाङ सडकमा भने साना सवारी साधनहरू सावधानीपूर्वक चलिरहेका छन्।
सडक विभागले यात्रु तथा सवारी चालकहरूलाई यात्रा गर्नुअघि सडकको अवस्था अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ। सडक अवरोध सम्बन्धी ताजा विवरण विभागको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
