काठमाडौं: अविरल वर्षा र बाढीका कारण देशका विभिन्न राजमार्ग तथा स्थानीय सडक खण्डमा रहेका पक्की पुल र तिनका पहुँच सडकमा व्यापक क्षति पुगेको छ। सडक विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख एवं सुपरिटेन्डिङ इन्जिनियर ललिजन खनालले बाढीका कारण कतिपय पुलको मुख्य संरचनामा क्षति पुगेको र धेरै स्थानमा पहुँच सडक बगेको जानकारी दिए।
काठमाडौंको जडीबुटी र काँडाघारी जोड्ने मनोहरा पुलको पहुँच सडकमा क्षति पुगेको छ। खनालका अनुसार ढलको ह्युम पाइपमा क्षति पुगी ग्याबिन वाल ढल्दा सडक भासिएको हो, यद्यपि पुलको मुख्य संरचना भने सुरक्षित छ। विभागले उक्त स्थानमा निरीक्षण गरिरहेको र छिट्टै मर्मत कार्य सुरु गर्ने जनाएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले यस क्षेत्रका कम्तीमा तीनवटा प्रमुख पुलका पहुँच सडकमा क्षति पुर्याएको छ। म्याग्दीको पोखरेबगरस्थित कालीगण्डकी पुल, तनहुँ र नवलपरासी जोड्ने डेडगाउँस्थित कालीगण्डकी पुल र पोखरा-बागलुङ राजमार्गको घाटखोला पुलको पहुँच सडक बाढीले बगाउँदा सवारी आवागमन ठप्प भएको छ।
निरन्तरको वर्षा र पहिरोका कारण प्राविधिकहरू घटनास्थलमा पुग्न नसक्दा क्षतिको पूर्ण विवरण संकलनमा कठिनाइ भइरहेको छ। खनालले भने, ‘सडक अवरुद्ध भएका कारण प्राविधिक टोली पुग्न नसक्दा क्षतिको अन्तिम र पूर्ण विवरण आउन केही समय लाग्नेछ।’ विभागले स्थानीय प्राविधिकमार्फत क्षतिको विवरण संकलन गरिरहेको र वर्षा रोकिनेबित्तिकै मर्मत गरी यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।
