काठमाडौं। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डको ४६ स्थानमा पहिरो गएको छ। असोज ८ गतेदेखिको निरन्तर वर्षाले सडकका विभिन्न खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने, नदी तथा खोलामा बाढी आउने र सडक कटान हुँदा यातायात सेवा नराम्ररी प्रभावित बनेको छ।
करिडोर आयोजनाका अनुसार माथिल्लो भेगदेखि तल्लो भेगसम्मका दर्जनौं स्थानमा सडक अवरुद्ध भएको छ। लाटीखोला, फर्स्या, जुकेखोला, बेनी, दाना, घासा, मार्फा हुँदै कोरलासम्मका ४६ स्थानमा सडक खण्ड प्रभावित भएको छ। केही स्थानमा लेदोसहितको पहिरो खसेको छ भने केही ठाउँमा कालीगण्डकी र अन्य खोलाको उच्च बहावले सडक नै बगाएको छ।
पोखरेबगर क्षेत्रमा पुलको ‘लेफ्ट एप्रोच रोड’ बगाउँदा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसैगरी, केही स्थानमा ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ भने सडकका धेरै खण्ड नदी कटानको उच्च जोखिममा रहेको आयोजनाले जनाएको छ।
