काठमाडौं. अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका-नेपाल सहयोगी समाज (एएनएचएस) ले रसुवा-भोटेकोशी बाढीपहिरोबाट प्रभावितका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। यो रकम नेपाली रुपियाँमा करिब १ करोड ४२ लाख बराबर हुन आउँछ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। चेक ग्रहण गर्दै मन्त्री खनालले प्राप्त रकमको सही सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले विदेशमा बस्ने नेपालीका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो।
कार्यक्रममा संस्थाकी अध्यक्ष कामना पन्थीले एएनएचएसको गतिविधिबारे जानकारी गराउनुभयो। बोर्ड अफ ट्रष्टीजका अध्यक्ष केदारप्रसाद तिम्सिना, राहत संकलन समितिका संयोजक मधुसुदन पन्थी तथा पूर्व अध्यक्षहरू पदमराज रेग्मी र कमला खरेलले प्रवासमा रहेका नेपालीका समस्या र सरकारले लिनुपर्ने पहलकदमीबारे सुझाव दिएका थिए।
उक्त कार्यक्रमका लागि नेपालका लागि कार्यवाहक राजदूत शरदराज आरणले समन्वय गर्नुभएको थियो भने न्युयोर्कस्थित महावाणिज्यदूत दधिराम भण्डारीले संयोजन र उपवाणिज्यदूत बलराम पाण्डेले व्यवस्थापकीय सहयोग गरेका थिए। बाढीपीडितका लागि रकम संकलन गर्न मधुसुदन पन्थीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो।
