काठमाडौं। पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति पुनः सहज हुन थालेको छ। अविरल वर्षाका कारण विगत चार दिनदेखि अवरुद्ध रहेको राजमार्ग सुचारु भएसँगै रोकिएका ग्यास बुलेटहरू काठमाडौंतर्फ आउन सुरु गरेका छन्।
गत असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र सडक अवरोधका कारण ग्यास ढुवानी ठप्प भएको थियो। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बाटो खुलेपछि आज मात्रै १०५ भन्दा बढी ग्यास बुलेटहरू काठमाडौँतर्फ आउने क्रममा छन्। निगमले साँझसम्ममा यो सङ्ख्या अझै बढ्ने र बाँकी रहेका सबै बुलेटहरू भित्रिने जनाएको छ।
प्रवक्ता ठाकुरले यी बुलेटहरू भित्रिएसँगै भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ गर्ने काम तीव्र पारिने जानकारी दिए। रिफिलिङ भएपछि ग्यास सिलिन्डरहरू बजारमा पठाइने र यसले बजारमा देखिएको ग्यासको अभाव क्रमशः हट्दै जाने निगमले विश्वास व्यक्त गरेको छ।
