काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा ठूलो चुनौती तथा अवरोध सिर्जना भएको बताए।
प्रभावित समुदायलाई पुनःस्थापित गर्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि निरन्तर सहयोग आवश्यक रहेको राणाले बताए। समुदायलाई आवश्यक परेको समयमा साथ दिने बैंकको प्रतिबद्धताअनुसार उद्धार कोषमा योगदान गरिएको उनले उल्लेख गरे।
