काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बढी हुने जगेडा विद्युत भारतमा बिक्री गर्ने भएको छ। प्राधिकरणले टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतीय विद्युत बजारमा ८६ मेगावाट बिजुली बिक्री गर्ने निर्णय गरेको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार, यो विद्युत भारतीय पावर एक्स्चेन्जको माध्यमबाट बिक्री गरिनेछ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्राधिकरण सञ्चालक समितिले असार २५ गते नै निर्णय गरेको थियो। विद्युत नियमन आयोगले भदौ २ गते यसमा सहमति प्रदान गरेको थियो। आयोगको निर्णयबारे भदौ ८ गते जानकारी पाएपछि प्राधिकरणले असोज ३ गते बिजुली बिक्रीको औपचारिक निर्णय गर्दै सम्झौताको मस्यौदा स्वीकृत गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्मका लागि ८५.६ मेगावाट बिजुली बिक्री गर्ने प्रस्ताव सञ्चालक समितिमा पेश गरेका थिए। भविष्यमा दुई पक्षबीचको सहमतिमा यो क्षमता थप गर्न सकिने प्रावधान राखिएको छ। कार्यकारी निर्देशक श्रेष्ठको सोही प्रस्तावलाई सञ्चालक समितिले स्वीकृत गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं सञ्चालक समितिका अध्यक्ष विराज भक्त श्रेष्ठले बिजुली बिक्रीसम्बन्धी सम्झौतामा प्राधिकरणको तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी प्रदान गरेका छन्।
