बुटवल: उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम किनारा नलागेसम्म उद्योग सञ्चालनमा रोक नलगाउन आदेश दिएको हो।
उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालयलगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो। अदालतले उद्योगबाट वातावरणीय प्रदूषण भए-नभएको विषयमा अन्तिम विवेचना हुन बाँकी रहेको जनाएको छ।
अदालतको आदेशमा भनिएको छ कि उद्योग तत्काल बन्द गर्दा कच्चा पदार्थ तथा उत्पादित सामानको व्यवस्थापनमा समस्या आउने र कर्मचारी तथा व्यवसायीको मौलिक हकमा समेत असर पर्ने देखिएकाले सुविधा र सन्तुलनका आधारमा यो आदेश दिइएको हो। यसअघि स्थानीय हरि शर्मा कार्की र अन्यले उद्योगले प्रदूषण फैलाएको भन्दै बुटवल उपमहानगरपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न निर्देशन दिएको थियो।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कमलराज जोशी, राममणि भुजेल र अधिवक्ता गोविन्द प्रसाद मरासिनीले बहस गरेका थिए। विपक्षीका तर्फबाट सहायक न्यायाधिवक्ता बसन्तराज पोखरेल, उपन्यायाधिवक्ता ऋषिकेशव बस्याल तथा अधिवक्ताहरू गोकर्णसिंह थापा र कृष्ण प्रसाद पोखरेलले बहस गरेका थिए। यसैबीच, मुद्दा विचाराधीन रहेको अवस्थामा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले उद्योगमा गएर धम्की दिएको र स्थानीयलाई आन्दोलित गराएको भन्दै रुपन्देही उद्योग संघ र बुटवल उद्योग वाणिज्य संघले आपत्ति जनाएका छन्। उनीहरूले यस्ता संवेदनशील विषयमा सञ्चारकर्मीलाई संयम अपनाउन आग्रह गरेका छन्।
