काठमाडौं: कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले लुम्बिनी प्रदेशका विभिन्न कृषि तथा वन क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। असोज १५ देखि १८ गतेसम्म भएको उक्त अनुगमनका क्रममा उनले कृषि उत्पादन, सिँचाइ, मलखाद र बजारीकरणको अवस्थाबारे जानकारी लिएकी हुन्।
मन्त्री चौधरीले रुपन्देहीको मर्चवार क्षेत्रअन्तर्गत मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकामा रहेका कृषि केन्द्रहरूको अवलोकन गरिन्। यस क्रममा उनले सम्मरीमाई-६ को कृषि उपज सङ्कलन केन्द्र, मर्चवारीमाई-१ को ५० बिघा क्षेत्रफलमा फैलिएको केरा खेती र कोटहीमाई-५ को मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको निरीक्षण गरिन्।
विशेषगरी असोज ८ देखि ११ गतेसम्म परेको वर्षा र हावाहुरीका कारण केरा खेतीमा पुगेको क्षतिबारे मन्त्री चौधरीले कृषकसँग प्रत्यक्ष जानकारी लिएकी छन्। छलफलका क्रममा कृषकहरूले उत्पादनको उचित मूल्य नपाएको, बजारीकरणमा कठिनाइ भएको तथा कृषि बिमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका थिए। साथै, उनीहरूले कृषि विद्युतीकरण र सडक पूर्वाधारको स्तरोन्नतिमा जोड दिन आग्रह गरे।
कृषकका समस्या सुनेपछि मन्त्री चौधरीले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्। उनले कृषि क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह र सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताइन्।
