काठमाडौं: कैलालीको घोडाघोडी नगरपालिकामा बुधबार बिहान परेको असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा ठूलो क्षति पुगेको छ। धान काटेर भित्र्याउने तयारी गरिरहेका किसानहरू बालीमा क्षति पुगेपछि चिन्तित बनेका छन्।
असिनापानीले खेतमा रहेको धानका बाला झार्नुका साथै हावाहुरीले धान ढलाएको छ। कतिपय स्थानमा काटेर सुकाइएको धान वर्षाको पानीले भिजेको छ भने केही ठाउँमा पानीले धान बगाएको छ। स्थानीय किसान रामभरोसा चौधरीले काटेर सुकाएको धान वर्षाले भिजाउँदा जोगाउन मुस्किल भएको बताए। त्यस्तै, निशा चौधरी र मनोज चौधरीको खेतमा पनि काटेर राखेको धान वर्षाका कारण डुबेको छ। वडा नम्बर ८ का किसान रामु बुढाथोकीले पाकिसकेको धान भित्र्याउने समयमा भएको वर्षाले थप समस्या थपेको बताए।
प्राकृतिक विपत्तिले नगरपालिकाको विद्युत् संरचनामा समेत क्षति पुर्याएको छ। पहलमानपुर सबस्टेसनका प्रमुख लोकविक्रम मल्लका अनुसार हावाहुरीका कारण विद्युत्का तार चुँडिनुका साथै पोलमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ। हाल क्षतिग्रस्त संरचनाको मर्मत कार्य भइरहेको छ।
यसैगरी, हावाहुरीले रुख ढल्दा पूर्व-पश्चिम राजमार्ग र भित्रि सडकहरू केही समय अवरुद्ध भएका थिए। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार सडकमा ढलेका रुखहरू हटाई राजमार्ग सुचारु गरिएको छ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले विभिन्न वडामा भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार धानबालीमा सबैभन्दा बढी क्षति भएको छ भने केही घरहरूमा रुख ढलेर क्षति पुगेको छ।
