पाख्रीबास: धनकुटाको पाख्रीबास बजारमा चाडपर्वलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। अनुगमन टोलीले पाख्रीबासमा सञ्चालित एक दर्जन होटल तथा खुद्रा पसलहरूमा निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा पसलहरूबाट चामल, बिस्कुट, मसला र कोक, स्प्राईट, फेन्टा तथा मिरिन्डा जस्ता पेयपदार्थ लगायतका म्याद नाघेका वस्तुहरू फेला परेका थिए। जफत गरिएका ती सामग्रीहरू नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो।
अनुगमन टोलीले पसलहरूमा मूल्य सूची अनिवार्य रूपमा टाँस गर्न निर्देशन दिएको छ। साथै, मापदण्ड विपरीत सञ्चालनमा रहेका पसलहरूलाई सुधार गर्न सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी अर्जुन गिरीले बताउनुभयो। चाडपर्वको समयमा उपभोक्ता ठगिन नपाउन् भनी बजार अनुगमनलाई तीव्रता दिइएको अधिकारीहरूले जनाएका छन्।
उक्त अनुगमन कार्यमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय पाख्रीबास र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त सहभागिता रहेको थियो।
