धनकुटा। बडादशैँ सुरु भएसँगै धनकुटाका बजार र साप्ताहिक हाटबजारमा चहलपहल बढेको छ।
दशैँका लागि आवश्यक खाद्यान्न, लत्ताकपडादेखि खसीबोका, बंगुर, हाँस र कुखुराको किनमेल गर्न आउनेको भिड लागेको छ।
जिल्लाका विभिन्न स्थानमा साप्ताहिक हटिया लाग्ने गर्दछन्। धनकुटा र हिलेमा बिहीबार, पाख्रीबासमा शनिबार तथा सिधुवा र थलथलेमा बुधबार यस्ता बजार लाग्ने गर्छन्।
स्थानीय व्यापारीका अनुसार दशैँ व्यापारका लागि वर्षकै सबैभन्दा ठुलो सिजन हो। यस वर्षको चहलपहल अघिल्ला वर्षभन्दा बढी देखिएको छ।
मासु व्यापारी अभिषेक कार्कीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यापारमा केही सुधार देखिएको छ। “सिंगो खसीको दामअनुसार मूल्य तोकिन्छ।
काटेको मासु गाउँमा नौ सय र सहर बजारमा एघार सयसम्म बिक्री हुने गरेको छ,” उनले भने। उनले खसीको माग उच्च रहेका कारण माग धान्न मुस्किल परेको बताए।
दशैँको अवधिमा अन्य समयको तुलनामा आर्थिक कारोबार दोब्बरदेखि तेब्बरसम्म हुने गरेको छ। वर्षभरिको कुल कारोबारको करिब ४० प्रतिशत हिस्सा दशैँकै समयमा हुने गरेको छ। धनकुटा उद्योग वाणिज्य संघले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमन र समन्वय गरिरहेको छ।
संघका अध्यक्ष श्रीराम रायमाझीले व्यापारीहरूलाई अनिवार्य मूल्य सूची राख्न, सामानको कृत्रिम अभाव सिर्जना नगर्न तथा म्याद नाघेका वस्तु बिक्री नगर्न आग्रह गरिएको बताए।
