काठमाडौं। नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम जम्मा गर्ने दैनिक सीमामा अस्थायी रूपमा वृद्धि गरेको छ।
चाडपर्वको समयमा प्रयोगकर्ताहरूलाई सहज बनाउने उद्देश्यले राष्ट्र बैंकले वालेटमा एक दिनमा ५० पटकसम्म रकम जम्मा गर्न मिल्ने व्यवस्था मिलाउन भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
हालको व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिको मोबाइल वालेटमा दैनिक बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने प्रावधान रहेको छ। तर, चाडपर्वलाई लक्षित गर्दै यो सीमा बढाइएको हो।
यो नयाँ व्यवस्था बडा दशैँका अवसरमा असोज ३१ गतेदेखि कार्तिक ८ गतेसम्म लागु हुनेछ। त्यस्तै, दिपावली तथा छठ पर्वका समयमा कार्तिक २१ गतेदेखि कार्तिक २९ गतेसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई उक्त अवधिमा यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। यसबाट दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा वालेट प्रयोगकर्ताहरूलाई कारोबार गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

