काठमाडौं। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनापछि दसैँलगायतका चाडपर्व मनाउन उपत्यका छाड्ने सर्वसाधारणको संख्या बढिरहेको छ।
वर्ष दिनमा आउने चाड र इष्टमित्र तथा आफन्तसँगको पारिवारिक मिलनका कारण सर्वसाधारण ट्राफिक जाम र असुरक्षित यात्राको जोखिम मोलेरै भए पनि आ–आफ्नो गाउँघर फर्किने क्रम जारी छ। कमजोर सडक संरचना, ट्राफिक जामलगायतका अवरोध छिचोल्दै सर्वसाधारण गाउँघर फर्किरहेका छन्।
कैलालीको गोदावरी नगरपालिकाका अमर महता पनि परिवारसहित दशैं मनाउन घर जान लागेको बताए। “हवाई टिकट महँगिएर छोइनसक्नु भएको छ। हामी त बस चढेरै दशैं मनाउन घर जान लागेका छौं,” उनले भने, “अहिलेको सडकको अवस्था हेर्दा जामको पनि डर लाग्छ, तर वर्ष दिनमा आउने चाड मनाउन त जानु पर्यो नि !”
उनी मात्रै होइन, काठमाडौं उपत्यका बाहिर घर भएका ७४ वटै जिल्लाका सर्वसाधारण दशैंलगायतका पर्व मनाउन आ–आफ्नो घर फर्किंदै छन्। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ‘२०८३ सालको दशैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदन’ अनुसार दशैंमा सार्वजनिक यातायातमार्फत उपत्यका छाड्ने यात्रुको संख्या न्यूनतम ६ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको बताए।
“दसैँमा यात्रुलाई आ–आफ्नो गाउँघर पुर्याउन न्यूनतम ४३ हजारदेखि अधिकतम ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्नेछन्,” उनले भने, “उक्त प्रतिवेदनले दशैंमा यात्रा गर्ने यात्रुका अल्पकालीन तथा दीर्घकालीन समस्याको समाधान गर्ने उपाय पनि पहिल्याएको छ।”
प्रतिवेदनअनुसार ठूला बसले ४८ प्रतिशतभन्दा बढी यात्रु ओसार्ने छन्। त्यसैगरी माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत यात्रु बोक्ने अनुमान गरिएको छ।
पूर्वाधार विकास समितिका सभापति गजुरेलको नेतृत्वमा १७ सदस्यीय अध्ययन टोलीले उक्त प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार यसपालिको दशैंमा असोज ३१ गते (फूलपाती) देखि कात्तिक २ गते (अष्टमी) सम्म तीन दिन यात्रुको चाप सबैभन्दा बढी हुने अनुमान छ।
असोज ३१ गते फूलपातीका दिन न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम एक लाख १३ हजार २८३ जनाले यात्रा गर्ने अनुमान गरिएको छ। त्यस दिन यात्रु ओसार्न न्यूनतम चार हजार ९११ देखि अधिकतम सात हजार ३७६ वटा सवारीसाधन आवश्यक पर्नेछन्।
त्यसैगरी, कात्तिक १ गते न्यूनतम ६७ हजार २४३ देखि अधिकतम एक लाख ८६४ जनाले यात्रा गर्ने अनुमान छ। त्यसका लागि न्यूनतम चार हजार ४६३ देखि अधिकतम ६ हजार ६९५ वटा सवारीसाधन आवश्यक पर्नेछन्।
यस्तै, कात्तिक २ गते न्यूनतम ५० हजार ३११ देखि अधिकतम ७५ हजार ४६६ जनाले यात्रा गर्ने अनुमान गरिएको छ। उनीहरूका लागि न्यूनतम दुई हजार ८१८ देखि अधिकतम चार हजार २२७ वटा सवारीसाधन आवश्यक पर्ने बताइएको छ।
कात्तिक ३ गते न्यूनतम ३६ हजार ४४१ देखि अधिकतम ५४ हजार ६६१ जना यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। त्यसका लागि न्यूनतम एक हजार ८२६ देखि अधिकतम दुई हजार ७३९ वटा सार्वजनिक सवारीसाधन आवश्यक पर्नेछन्।
कमजोर सडक संरचनाले यात्रा गर्न चुनौती थपिँदै
गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि त्रिशूली नदीको बहावका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा पटक पटक सडक भासिने समस्या देखिएको छ। यसले गर्दा सर्वसाधारण ढुक्क भएर यात्रा गर्न डराइरहेका छन्। बीपी राजमार्गमा पनि पटक–पटक पहिरो जाने समस्याले यात्रामा विभिन्न बाधा अड्चन आइरहेका छन्।
अर्कोतर्फ, गत असोज १५ गते बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने गोरखाको सोतीस्थित पक्की फलामे पुलमा क्षति पुर्याउँदा आवागमनमा समस्या भएको छ। पुललगायतका संरचनामा क्षति पुगेका कारण असोज २५ गतेदेखि उक्त खण्डको सडक अवरुद्ध छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले राष्ट्रिय राजमार्गहरूको अवस्था दयनीय रहेकाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु चुनौतीपूर्ण रहेको बताए।
“हामीले दशैंलगायतका चाडपर्व मनाउन जाने सर्वसाधारणलाई सुरक्षित रूपमा घर पुर्याउन यातायात व्यवसायीले आवश्यक समन्वय र सहकार्य गरिरहेका छौं,” उनले भने, “राजमार्गहरूको अवस्था निकै खराब भएकाले यात्रुलाई कसरी सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने भन्ने चुनौती कायमै छ।”
पूर्वाधार विकास समितिका सभापति गजुरेलले भोटेकोशीमा आएको बाढी र अन्य जिल्लामा भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्ग, पुललगायतका संरचनामा हुन सक्ने क्षति र असरलाई ध्यानमा राखेर व्यवस्थित यातायातको प्रबन्ध मिलाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको बताए।
“राज्यको धेरै जनशक्ति र स्रोत सडक खुलाउन तथा मर्मत गर्न लगाउनु पर्ने अहिलेको आवश्यकता हो,” उनले भने, “यात्रुको सुरक्षालाई ध्यान दिँदै सहज रूपमा चाडपर्व मनाउन घर जाने व्यवस्था गर्न आवश्यक छ।”
सडक विभागले सम्भावित विपद् र दुर्घटनालाई ध्यानमा राख्दै ५३ वटा ठूला डोजर, स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि दशैंका समयमा उपत्यकाभित्र ट्राफिक व्यवस्थापनका लागि एक हजार ३०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ। चाडपर्वको मुख्य समयमा अधिकृत तथा जवानलाई १५ देखि १६ घण्टासम्म ड्युटीमा खटाउने कार्यतालिका रहेको छ।
प्रतिवेदनले दशैंका समयमा सञ्चालन हुने सवारीसाधन र चालकको जाँचलाई पनि उच्च प्राथमिकता दिन सुझाव दिएको छ। उक्त अवधिमा ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था (फिटनेस), कागजात तथा सवारीचालक अनुमतिपत्र जाँच गर्ने, मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे–लापसे) परीक्षण गर्ने र क्षमताभन्दा बढी यात्रु बोके–नबोकेको जाँच गर्नेछ।
साथै, लामो दूरीको यात्रामा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने नियम पालना भए–नभएको अनुगमन गर्नेलगायतका जिम्मेवारी पनि ट्राफिक प्रहरीलाई तोकिएको छ।

