काठमाडौं। विगत तीन वर्षको कूटनीतिक तनावलाई पन्छाउँदै क्यानडा र भारतले आर्थिक सम्बन्धमा सुधार गरेका छन्।
क्यानडाको राष्ट्रिय सार्वजनिक प्रसारण संस्था सीबीएसका अनुसार क्यानडाको व्यापारिक प्रतिनिधिमण्डलले भारतमा ३० वटा व्यावसायिक साझेदारी सम्झौता गरेको छ।
क्यानडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिधुका अनुसार यी सम्झौताहरूको कुल मूल्य ३० करोड अमेरिकी डलर रहेको छ। तीन सय सदस्य रहेको टिम क्यानडाले नयाँ दिल्ली, मुम्बई र बेङ्गलुरुमा एक सातासम्म व्यापारिक छलफल गरेको थियो।
क्यानडाले आगामी डिसेम्बरको मध्यसम्ममा भारतसँग व्यापक आर्थिक साझेदारी सम्झौतालाई अन्तिम रूप दिने लक्ष्य राखेको छ। सोही समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाको भ्रमण गर्ने अपेक्षा गरिएको छ। क्यानडाले दाल, गेडागुडी र पोटासमा भारतले लगाउँदै आएको भन्सार महसुल घटाउन चाहेको छ।
सन् २०२३ मा ब्रिटिश कोलम्बियामा एक सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोपपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो। भारतले उक्त आरोप अस्वीकार गर्दै दुवै देशले कूटनीतिज्ञहरूलाई निष्कासन गरेका थिए।
अब्जर्भर रिसर्च फाउन्डेसनका विश्लेषक हर्ष वी पन्तका अनुसार पछिल्लो दुई वर्षमा आतंकवाद, साइबर सुरक्षा र आन्तरिक सुरक्षाका विषयमा संवादमार्फत सम्बन्धमा सुधार आएको छ।
मन्त्री सिधुले १ अर्ब ४० करोड जनसङ्ख्या र ७ प्रतिशतको आर्थिक वृद्धिदर रहेको भारतीय बजारलाई क्यानडाले उपेक्षा गर्न नसक्ने बताएका छन्।
हाल दुई देशबीच वार्षिक ३० अर्ब डलरको द्विपक्षीय व्यापार हुँदै आएको छ। क्यानडाको कार्नी सरकारले सन् २०३० सम्ममा यसलाई ७० अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ।
मुम्बईमा आयोजित कार्यक्रममा कर्पोरेट वकिल जिया मोदीले क्यानडाका पेन्सन फन्डहरूले भारतमा १०० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको जानकारी दिइन्।
भूराजनीतिक तनावका कारण दुवै देश आफ्ना व्यापारिक साझेदारहरू विविधीकरण गर्न केन्द्रित देखिएका छन्।

