काठमाडौं: नेपाल सरकारले भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा पूर्ण रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै बजारमा रहेका उक्त ब्राण्डका उत्पादन तत्काल फिर्ता गर्न आयातकर्ता र व्यवसायीलाई निर्देशन दिएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले असोज ३१ मा जारी गरेको सूचनाका आधारमा विभागले यो निर्णय लिएको हो। उक्त प्रतिवेदनमा प्रियागोल्ड बिस्कुटमा गाईवस्तुलाई खुवाउने चोक्कर प्रयोग गरिएको पाइएको छ। बिस्कुट उत्पादनमा प्रयोग गरिएको चोकरका बोराहरूमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने स्पष्ट उल्लेख रहेको विभागले जनाएको छ।
यसबाहेक, कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता र कारखाना परिसरको मर्मतसम्भारमा समेत गम्भीर कमजोरी भेटिएको छ। सोही कारण भारतीय नियामक निकायले सूर्या फुड एन्ड एग्रो लिमिटेडको अनुमतिपत्र निलम्बन गरिसकेको छ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहितको भर्चुअल बैठकले कात्तिक १ देखि लागू हुने गरी यस्तो निर्णय गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) र (४) बमोजिम व्यवसायीहरूलाई बजारबाट फिर्ता ल्याइएका उत्पादनहरूको उचित अभिलेख राख्न विभागले भनेको छ। यदि उत्पादनहरू नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय प्रशासन र विभागका प्राविधिकहरूको रोहबरमा मात्र गर्नुपर्ने र त्यसको जानकारी विभागलाई गराउनुपर्ने निर्देशन दिइएको छ।

