काठमाडौं: अमेरिकी अर्बपति एलन मस्कले आफ्नो दुई कम्पनी स्पेसएक्स र टेस्लालाई गाभ्ने प्रस्तावको समर्थन गरेका छन्। मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले यस सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै मस्कले सम्झौता हुने कुरा निश्चित नभएको र यसका लागि टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरेका छन्।
यसैबीच स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब १० करोड डलर घाटा व्यहोरेको थियो। कम्पनीको कुल आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ। यस वृद्धिका लागि एआई सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले मुख्य योगदान पुर्याएको कम्पनीले जनाएको छ। विशेषगरी एआई एकाइको आम्दानी नौ गुणाले बढेर सात अर्ब ६० करोड डलर पुगेको छ।
स्पेसएक्सले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ। मस्कले सन् २०२७ भित्र थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्। त्यस्तै स्टारलिङ्कको आम्दानी ६९ प्रतिशतले वृद्धि भई पाँच अर्ब २० करोड डलर पुगेको छ भने ग्राहक सङ्ख्या एक करोड ३६ लाख पुगेको कम्पनीले जानकारी दिएको छ। यसका साथै स्पेसएक्सले मङ्गल अभियानका लागि महत्त्वपूर्ण मानिएको स्टारसिप रकेटबाट पहिलो व्यावसायिक उडानसमेत पूरा गरेको छ। उक्त उडानमार्फत २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक पुर्याइएको छ।
