काठमाडौं। बाढीबाट प्रभावित नुवाकोट र रसुवा जिल्लाका विद्यार्थी तथा स्थानीयलाई ५ हजार थान सौर्य बत्ती वितरण गरिएको छ।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले फक्सकन इन्डस्ट्रियल इन्टरनेटको सहयोगमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत दुवै जिल्लाका ५४ विद्यालयमार्फत उक्त बत्ती वितरण गरिएको हो।
प्राकृतिक विपद्का कारण प्रभावित र विद्युत् सेवाको पहुँच सीमित भएका परिवारका बालबालिकालाई साँझको समयमा अध्ययन गर्न सहज बनाउने उद्देश्यले सो सहयोग गरिएको हो। सौर्य बत्तीले विद्यार्थीलाई गृहकार्य गर्न, पाठ दोहोर्याउन र विद्यालयको तयारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
वितरण गरिएका कुल ५ हजार थान सौर्य बत्तीमध्ये नुवाकोटमा २ हजार ९६ र रसुवामा २ हजार ९०४ वटा बत्ती प्रदान गरिएको छ। नुवाकोटको सूर्यगढी गाउँपालिकामा १ हजार १०० र विदुर नगरपालिकामा ९९६ थान बत्ती वितरण गरिएको छ। त्यसैगरी, रसुवाको नौकुण्ड गाउँपालिकामा १ हजार ५३४ र कालिका गाउँपालिकामा १ हजार ३७० थान सौर्य बत्ती वितरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय सरोकारवालासँगको समन्वयमा केही दिनअघि उक्त वितरण कार्य सम्पन्न भएको थियो। घरमा विद्युत् सेवा अवरुद्ध भएका वा पर्याप्त प्रकाशको व्यवस्था नभएका विद्यार्थीलाई पनि यस कार्यक्रमबाट फाइदा पुग्ने विश्वास लिइएको छ।

