बाँके। बाँकेको जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिहीबार दिउँसो करिब १:३० बजे विद्युत् सर्ट सर्किट भई उक्त आगलागी भएको हो।
फलाम पगाल्न प्रयोग गरिने तेल भण्डारण गरिएको २ लाख लिटर क्षमताको ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा र दमकलको सहयोगमा करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

