काठमाडौं। फ्रान्सका विभिन्न सहरमा भइरहेको दङ्गाका दृश्यहरू विश्वभर फैलिएपछि त्यहाँको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ।
हिंसात्मक घटनाहरू दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने भन्दै व्यवसायीहरूले चेतावनी दिएका छन्।
फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन एडिएन टुरिजमकी प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता सहरमा देखिएको हिंसालाई विनाशकारी भनेकी छन्।
उनले पर्यटकहरू होटलमा रमाइलो गर्न आउने भएकाले हिंसाका कारण उनीहरू होटलभित्रै सीमित हुनुपर्ने अवस्थाले नकारात्मक सन्देश प्रवाह गरेको बताइन्।
सडकमा भइरहेका आगजनी, लुटपाट र प्रहरीसँगको झडपका दृश्यले अन्तरराष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फ्रान्सको पर्यटन छविलाई प्रभावित पारेको छ।
परामर्श संस्था प्रोटुरिजमका प्रमुख डिडियर अरिनोका अनुसार पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढेको छ। पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि मात्रै होटल बुकिङ रद्द हुने दर करिब एक प्रतिशतले बढेको छ। यद्यपि, सन् २०२६ का लागि अनुमानित चार करोड २० लाख होटल बुकिङको तुलनामा यो ठूलो गिरावट नभए पनि हिंसा लम्बिएमा गम्भीर असर पर्ने उनले बताए।
फ्रान्सले वार्षिक करिब १० करोड पर्यटक भित्र्याएर ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्दै आएको छ। अमेरिका, चीन र जर्मनीले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ। एमकेजी कन्सल्टिङका अनुसार पेरिसका होटलहरूले आगामी छ साताका लागि बुकिङमा कमी व्यहोरेका छन्।
अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि बुकिङको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शून्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको छ। ट्राभल एजेन्सी सेलेक्टुरका कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार हिंसा दुई सातामै नियन्त्रणमा आए ठूलो क्षति नहुने तर महिनौँ लम्बिए पर्यटन क्षेत्रका लागि विनाशकारी हुनेछ।

