काठमाडौं। वर्षायाममा नागढुंगा-मुग्लिन सडक खण्डमा पहिरो जाँदा काठमाडौंको आपूर्ति र आवागमन प्रभावित हुने गरेको छ।
सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र पर्ने र उपभोग्य सामग्री बोकेका ट्रक बाटोमै रोकिने समस्याले राजधानीको अर्थतन्त्रमा असर परिरहेको छ।
सरकारले संकटको समयमा मात्र वैकल्पिक सडक खोज्ने प्रवृत्तिले गर्दा राजधानी जोड्ने मुख्य सडकहरूको अवस्था नाजुक बनेको विज्ञहरू बताउँछन्।
पूर्वाधार विज्ञ डा. केशव शर्माका अनुसार फास्ट ट्र्याक निर्माण नहुँदासम्म त्रिभुवन राजपथलाई बाह्रै महिना चल्ने वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्छ।
उनले त्रिभुवन राजपथको ज्यामितीय सुधार, साँघुरा मोड फराकिलो बनाउने र क्षमता कम भएका पुलहरूको स्तरोन्नति गर्नुपर्ने सुझाव दिएका छन्। उनले ठूला मालवाहक सवारीका लागि पालुङ, टिस्टुङ र चित्लाङ हुँदै काठमाडौं जोड्ने रुट उत्तम हुने बताएका छन्।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले मुख्य राजमार्गहरू साँघुरा हुँदा विपद्का बेला राजधानी ठप्प हुने गरेको बताए।
उनले कान्ति लोकपथ र दक्षिणकाली-फर्पिङ सडकलाई दुईतर्फी बनाउन जग्गा अधिग्रहणको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। सडक विभागका अनुसार कृष्णभिर जस्ता जोखिमपूर्ण क्षेत्र छल्न त्रिशुली नदीको पारिपट्टि गोरखातर्फ नयाँ सडक निर्माण भइरहेको छ। चितवनको फिस्लिङदेखि धादिङको बेनीघाट जोड्ने १९ किलोमिटर लामो यो वैकल्पिक मार्ग ‘गेम चेन्जर’ बन्न सक्ने अपेक्षा छ।
काठमाडौं-तराई फास्ट ट्र्याकको सन्दर्भमा, १० वर्षमा ५० प्रतिशत काम सम्पन्न भएको छ। सुरुङमार्ग र अग्ला पुलहरूको निर्माण बाँकी रहेकाले यो सडक पूर्ण रूपमा सञ्चालनमा आउन थप २ देखि ३ वर्ष लाग्ने देखिएको छ।
सरकारले खोकना क्षेत्रको विवाद सुल्झाउँदै आगामी २ देखि ३ वर्षभित्र आयोजना सम्पन्न गर्न ठेकेदारहरूका लागि दण्ड र पुरस्कारको नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

