म्याग्दी। दसैँ विदाको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।
सफा मौसम र बाढीपहिरोले क्षतिग्रस्त सडक मर्मत भएपछि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ पर्यटकको आकर्षण बढेको हो।
समुद्री सतहदेखि ४ हजार ५० मिटरको उचाइमा रहेको यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ।
असोजको दोस्रो साताको बाढीपहिरोले सुस्ताएको पर्यटन क्षेत्र दसैँ सुरु भएसँगै लयमा फर्किन थालेको छ। मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दसैँको दिन करिब १ सय जना पर्यटक हुमखोला हुँदै आधार शिविरतर्फ लागेका थिए। बिहीबार यो संख्या २ सय ५० पुगेको थियो भने शुक्रबार ५ सयभन्दा बढी पर्यटक यस क्षेत्रमा पुगेका छन्।
नारच्याङदेखि आधार शिविरसम्मको यात्राका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ र चितवन लगायतका जिल्लाबाट पर्यटकहरू आएका छन्।
पर्यटकको सहजताका लागि हुमखोलादेखि आधार शिविरसम्मका विभिन्न स्थानमा अस्थायी होटल तथा खाजा पसलहरू सञ्चालनमा ल्याइएको छ।
साथै, सन्धीखर्क, भुसकेट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ। संघीय, प्रदेश र स्थानीय सरकारको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भार गरिएको छ।
अन्नपूर्ण आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय समेत स्थापना गरिएको छ।
नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारी साधन र त्यहाँबाट २१ किलोमिटर पदयात्रा गरेपछि आधार शिविर पुग्न सकिन्छ। पदमार्गमा रहेको फुतफुते झरना र पञ्चकुण्ड ताल यहाँका मुख्य आकर्षण हुन्।

