काठमाडौं। गत भदौ १० गते आएको रसुवा: भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षण अनुसार, कुल क्षतिको ६९ अर्ब ५७ करोड रुपैयाँ घरपरिवार र ९ अर्ब ६० करोड रुपैयाँ व्यवसाय तथा प्रतिष्ठानसँग सम्बन्धित छ।
यो मूल्यांकनमा सडक, जलविद्युत् आयोजना र अन्य पूर्वाधारको क्षति समावेश गरिएको छैन। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहका ६ हजार ८१७ घरपरिवार र एक हजार ६३८ व्यवसाय प्रभावित भएका छन्। यस विपद्बाट ३२ हजार ८७२ जना प्रत्यक्ष रूपमा प्रभावित भएको आयोगले जनाएको छ। जिल्लागत विवरणमा नुवाकोट सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ १७ हजार ९५४ जनाले क्षति बेहोरेका छन्।
निजी सम्पत्तिमा भएको क्षतिको मुख्य हिस्सा जग्गाजमिनको छ। तीन हजार ६१० परिवारको ५०८ हेक्टर जमिनमा क्षति पुग्दा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। त्यस्तै, घर संरचनामा १३ अर्ब २६ करोड र भवन निर्माणमा ११ अर्ब ९५ करोड रुपैयाँको क्षति भएको छ। बाढीले तीन हजार ९६७ घरधनीका चार हजार १५१ भवन संरचनामा क्षति पुर्याएको छ, जसमध्ये ७६.९५ प्रतिशत संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा छन्।
बाढीले नगद, बहुमूल्य वस्तु, सांस्कृतिक सम्पत्ति तथा घरायसी सामानमा पनि ठूलो क्षति पुर्याएको छ। कृषि र पशुपालन क्षेत्रमा समेत असर परेको छ, जसमा ६६४ ठूला पशु, चार हजार ६०१ साना पशु र हजारौं पन्छी नष्ट भएका छन्। व्यवसायतर्फ ७७४ थोक तथा खुद्रा व्यापारका प्रतिष्ठान सबैभन्दा बढी प्रभावित छन्।
मन्त्रिपरिषद्को भदौ १२ गतेको निर्णय बमोजिम आयोगले १५६ जनशक्ति परिचालन गरी यो तथ्यांक संकलन गरेको हो। हाल संकलित तथ्यांकको विश्लेषण भइरहेको छ। प्रभावित परिवारको पुनःस्थापना, आवास निर्माण र जीविकोपार्जन पुनः सुरु गराउने कार्य चुनौतीपूर्ण देखिएको आयोगको निष्कर्ष छ।

