काठमाडौं । पीएचपी (PHP) प्रोग्रामिङ ल्याङ्ग्वेजमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि अस्थायी रूपमा बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन्।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार ‘PHP2Shell’ नामक सुरक्षा जोखिम समाधान गर्न आवश्यक सुरक्षा प्याच लागू गर्नुका साथै परीक्षणसमेत सम्पन्न भएपछि आइतबार साँझदेखि अधिकांश वेबसाइट र सेवा नियमित रूपमा सञ्चालनमा आएका हुन्।
केन्द्रले अझै सञ्चालनमा आउन बाँकी रहेका सेवाहरू पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।
यसअघि सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव सुवाश ढकालले सरकारी प्रणालीमा प्रयोग भएका पीएचपी कम्पोनेन्टको सुरक्षा परीक्षण भइरहेको जानकारी दिएका थिए। उनले सोमबार बिहानसम्म अधिकांश वेबसाइट पुनः सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका थिए।
पीएचपीमा देखिएको सुरक्षा जोखिमका कारण गत २० अक्टोबरदेखि सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका थिए। वेबसाइट बन्द हुँदा सरकारी अनलाइन सेवामा निर्भर सेवाग्राही प्रभावित भएका थिए। सुरक्षा कमजोरी समाधान गरी परीक्षण सम्पन्न भएपछि अधिकांश सेवा पुनः सञ्चालनमा आएका हुन्।
