पछिल्लो पाँच वर्षमा नेपालमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण उल्लेख्य बढेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को तथ्यांकअनुसार २०७७ सालसम्म १७ लाख रहेको डिम्याट खाता संख्या चालु आर्थिक वर्षको १० महिनासम्ममा बढेर ६७ लाख ५२ हजार ७०० पुगेको छ । यो करिब २९७ प्रतिशतको वृद्धि हो ।
बजारमा लगानीकर्ताको संख्या बढेसँगै पर्याप्त ज्ञान र सूचनाबिना लगानी गर्दा जोखिममा पर्ने गुनासो पनि बढिरहेका छन् । सेयर बजारमा आकर्षक प्रतिफलको सम्भावना भए पनि जोखिम उत्तिकै रहने भएकाले लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था, बजारको प्रवृत्ति र आफ्नो जोखिम बहन गर्ने क्षमताबारे स्पष्ट हुन आवश्यक छ ।
नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत रहन तथा सुरक्षित र विवेकपूर्ण लगानी गर्न विभिन्न सुझाव दिएको छ । सेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने १५ महत्वपूर्ण सूत्र यस्ता छन् ।
१. प्राथमिक बजारबाट लगानी सुरु गर्नुहोस्
सेयर बजारमा नयाँ प्रवेश गर्ने लगानीकर्ताले प्राथमिक बजारबाट लगानी सुरु गर्नु उपयुक्त हुन्छ । यसबाट बजारको आधारभूत ज्ञान हासिल गर्दै क्रमशः लगानीको अनुभव बढाउन सकिन्छ ।
२. कम्पनीको विवरणपत्र अध्ययन गर्नुहोस्
प्राथमिक बजारमा लगानी गर्नुअघि कम्पनीको आह्वानपत्र तथा विवरणपत्र अध्ययन गर्नुहोस् । कम्पनीका संस्थापक, व्यवस्थापन पक्ष, वित्तीय अवस्था र क्रेडिट रेटिङलगायत महत्वपूर्ण पक्षको विश्लेषण गरेर मात्र लगानी निर्णय लिनुपर्छ ।
३. वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रक्रिया पूरा गर्नुहोस्
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा १० प्रतिशत सेयर छुट्याउने व्यवस्था लागू भइसकेको छ । यस्तो सेयरमा आवेदन दिन विप्रेषण बचत खाता खोली सीआरएन नम्बर प्राप्त गरी आस्बा सदस्य बैंकमार्फत आवेदन दिनुपर्छ ।
४. हल्ला र बहकाउमा नपर्नुहोस्
सेयर बजारमा आकर्षक प्रतिफलको सम्भावनासँगै जोखिम पनि उत्तिकै हुन्छ । अनावश्यक प्रचारप्रसार, हल्ला वा अरूको बहकाउमा नपरी कम्पनी र बजारबारे स्पष्ट जानकारी लिएर आफ्नो जोखिम बहन गर्ने क्षमताअनुसार लगानी गर्नुपर्छ ।
५. विवेकपूर्ण र संयमित निर्णय लिनुहोस्
लगानी गर्दा यथार्थपरक र आधिकारिक सूचना प्रयोग गर्नुहोस् । बजारको उतारचढावमा हतारमा निर्णय लिनुभन्दा संयमित र विवेकशील भएर लगानी गर्नु आवश्यक छ ।
६. सूचीकृत कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्नुहोस्
दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको आधिकारिक कार्यसम्पादन विवरण, लाभांश तथा हकप्रद सेयर घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजना र आवधिक तथा वार्षिक वित्तीय प्रतिवेदन अध्ययन गर्नुहोस् । साथै कम्पनीको मूल्य प्रवृत्ति, साधारणसभाका निर्णय र सम्बन्धित उद्योगको अवस्थासमेत विश्लेषण गर्नुपर्छ ।
७. आर्थिक तथा राजनीतिक अवस्थाबारे सचेत रहनुहोस्
देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थाले सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले लगानी निर्णय लिनुअघि आर्थिक गतिविधि, नीतिगत परिवर्तन र राजनीतिक परिस्थितिबारे जानकारी राख्नु आवश्यक छ ।
८. ब्याजदर, तरलता र मुद्रास्फिति विश्लेषण गर्नुहोस्
मुद्रास्फिति, बैंकिङ प्रणालीको तरलता र ब्याजदरले सेयर बजारलाई प्रभावित गर्छन् । यी सूचकको अवस्था बुझेर मात्र लगानीसम्बन्धी निर्णय लिनुपर्छ ।
९. लगानी विविधीकरण गर्नुहोस्
सेयर बजारको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन, नियमित र विविधीकृत लगानी रणनीति अपनाउनुहोस् । एउटै कम्पनी वा क्षेत्रमा सबै रकम लगानी नगरी विभिन्न कम्पनी तथा क्षेत्रहरूमा लगानी फैलाउनु उपयुक्त हुन्छ ।
१०. अपेक्षित प्रतिफल निर्धारण गर्नुहोस्
लगानी गर्नुअघि अपेक्षित प्रतिफल दर र जोखिमको सीमा निर्धारण गर्नुहोस् । यसले नाफा सुरक्षित गर्न र अनावश्यक जोखिमबाट बच्न सहयोग पुर्याउँछ ।
११. नयाँ प्रविधिबाट हुने कारोबारमा सचेत रहनुहोस्
सेयर बजारमा नयाँ प्रविधिको प्रयोगबाट हुने कारोबारबारे जानकारी राख्नुहोस् । प्रविधिको प्रयोग गर्दा सुरक्षा, आधिकारिकता र कारोबारको विश्वसनीयतामा ध्यान दिनुपर्छ ।
१२. बैंकमार्फत वित्तीय कारोबार गर्नुहोस्
सेयर कारोबारमा रकमको लेनदेन बैंकिङ माध्यमबाट गर्नुहोस् । साथै धितोपत्र दलालले लिने कारोबार शुल्कबारे जानकारी राख्नुहोस् । यसले आर्थिक ठगीको जोखिम कम गर्न सहयोग गर्छ ।
१३. आधिकारिक बजार र ब्रोकरमार्फत कारोबार गर्नुहोस्
नेपाल स्टक एक्सचेन्जबाट सूचीकरण खारेज भएका तथा सूचीकरण नभएका सार्वजनिक लिमिटेड कम्पनीका धितोपत्र ओभर द काउन्टर बजारबाट कारोबार गर्न सकिने व्यवस्थाबारे जानकारी लिनुहोस् । दोस्रो बजारमा कारोबार गर्दा धितोपत्र बोर्डबाट अनुमति प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायीमार्फत मात्र कारोबार गर्नुपर्छ ।
१४. आधिकारिक स्रोतबाट सूचना लिनुहोस्
सेयर बजार, वित्तीय बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम र निर्देशनबारे जानकारी लिन नेपाल धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा सम्बन्धित नियामक निकायका आधिकारिक वेबसाइट हेर्नुहोस् । जिज्ञासा वा गुनासो भए सम्बन्धित धितोपत्र व्यवसायी, कम्पनी, सीडीएससी, नेप्से वा बोर्डमा सम्पर्क गर्नुहोस् ।
१५. लगानीसम्बन्धी तालिम र सचेतना कार्यक्रममा सहभागी हुनुहोस्
सेयर तथा वस्तु विनिमय बजारसम्बन्धी नियमित प्रशिक्षण, सचेतनामूलक कार्यक्रम र प्रकाशनबाट आवश्यक ज्ञान हासिल गर्नुहोस् । यस्ता कार्यक्रममा सक्रिय सहभागिताले बजार बुझ्न र विवेकपूर्ण लगानी निर्णय लिन सहयोग पुर्याउँछ ।
