काठमाडौं। बाँकेको सीमावर्ती रुपैडिहास्थित नेपालगन्ज रोड रेल स्टेसनबाट भारतको लखनउसम्म सिधा रेलसेवा सञ्चालन गर्न दुवै देशका नागरिकले माग गरेका छन्। रुपैडिहादेखि गोन्डासम्मको रेलसेवा मिटरगेजबाट ब्राडगेजमा स्तरोन्नति भएपछि स्थानीय बासिन्दाले यस्तो माग अघि सारेका हुन्।
दैनिक रेलयात्री सङ्घ भारत रुपैडिहाका अध्यक्ष जाफर इमाम रिजवी र नेपालगन्जका व्यवसायीहरूले सीमा क्षेत्रका नागरिकको सहज आवतजावतका लागि लखनउसम्म रेल विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य उपचार र व्यावसायिक कामका लागि लखनउ जानुपर्ने बाध्यता रहेकाले सिधा रेलसेवा अति आवश्यक भएको रिजवीले बताए। उनले यस विषयमा भारतको रेल मन्त्रालय, पूर्वोत्तर रेलवेका महाप्रबन्धक र बहराइच जिल्लाका सांसदलाई ध्यानाकर्षण गराउँदै पत्र पठाइएको जानकारी दिएका छन्।
त्यस्तै, अयोध्या र बनारसका लागि छुट्ने रेलको समय परिवर्तन गर्नुपर्ने माग पनि गरिएको छ। हाल बिहान ४ बजे छुट्ने रेलको समयका कारण नेपाली यात्रुहरू मर्कामा परेका छन्। अध्यक्ष रिजवीका अनुसार सीमा नाका बिहान ६ बजे मात्र खुल्ने भएकाले नेपालबाट जाने यात्रुहरू ४ बजे रुपैडिहा पुग्न सक्दैनन्। यसले गर्दा अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने नेपाली नागरिकहरू रेल सेवाबाट वञ्चित हुनुपरेको छ।
गत अगस्त ३० मा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले नेपालगन्ज रोडबाट रेलसेवाको औपचारिक शुभारम्भ गरेका थिए। तर, लखनउसम्मको सिधा सेवा नहुँदा यात्रुहरूले अझै पनि सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ।
