काठमाडौं: बाजुरामा वर्षौंदेखि अलपत्र परेका दुई पुलको ठेक्का रद्द गरिएको छ। बूढीगङ्गा नदीमाथिको मौरे पुल र बडीमालिका नगरपालिकाको ठूलीसाँघु खोलाको पुल निर्माण कार्य अलपत्र परेपछि सम्बन्धित निकायले ठेक्का तोडेको हो। यी दुवै पुल निर्माणको जिम्मा काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिले लिएको थियो।
मौरे पुल निर्माणका लागि २०७८ माघ ११ गते सम्झौता भएको थियो भने ठूलीसाँघु पुलका लागि २०७७ फागुन १० गते सम्झौता गरिएको थियो। महाकाली पुल योजना महेन्द्रनगरका सूचना अधिकारी रवि शाहका अनुसार निर्माण कम्पनीले तोकिएको समयसीमाभित्र काम सुरु नगरेपछि ठेक्का रद्द गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो। अदालतले २०८३ साउनमा योजना कार्यालयको पक्षमा फैसला गरेपछि अब नयाँ प्रक्रियाबाट निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ।
त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले पुल नहुँदा स्थानीय बासिन्दाले बर्सेनि सास्ती खेप्नुपरेको बताए। मौरे पुल बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने मात्र नभई बडीमालिका क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको छ। त्यस्तै ठूलीसाँघु पुल नहुँदा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ।
जिल्लामा विकास निर्माणका आयोजना ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र पर्ने समस्या व्याप्त छ। पूर्वाधार विकास कार्यालय अछामका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण मार्तडी-कोल्टी र खप्तड-गैरीखाद-आटीचौर सडकका लागि छुट्याइएको करोडौँ रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ। स्थानीयहरूले विकास आयोजना समयमै सम्पन्न नहुँदा यातायात, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवामा प्रत्यक्ष असर परेको गुनासो गरेका छन्।
