काठमाडौं: ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा खेती विस्तार भएसँगै यहाँको उत्पादन तराईका बजारसम्म पुग्न थालेको छ। गाउँपालिकाले आर्थिक विकास शाखाअन्तर्गत सञ्चालित नर्सरीमार्फत कृषकलाई बिरुवा वितरण गरी व्यावसायिक खेतीमा प्रोत्साहन गरिरहेको छ।
आर्थिक विकास शाखा प्रमुख विकास थेबेका अनुसार गाउँपालिकाले २०७६ सालदेखि नर्सरी सञ्चालनमा ल्याएको हो। पछिल्लो तीन महिनामा मात्रै नर्सरीबाट १ लाख १४ हजार ५ सय गोलभेँडाका बिरुवा वितरण गरिएको छ। व्यावसायिक कृषकलाई १ हजार वटासम्म र घरायसी प्रयोजनका लागि १ सय वटासम्म बिरुवा उपलब्ध गराउने गरिएको छ। साथै, प्राविधिक टोलीले कृषकलाई फिल्डमै पुगेर प्राविधिक सहयोगसमेत दिँदै आएको छ।
सिदिङ्वा-५ को पाथीभरा प्रगतिशील कृषक समूह, वडा नं. ४ को लाजेफुङ कृषक समूह र साब्लाखुका विभिन्न वडामा गोलभेँडा खेती भइरहेको छ। पाथीभरा प्रगतिशील कृषक समूहका अध्यक्ष जगन्नाथ दाहालका अनुसार अहिले गोलभेँडा प्रतिकिलो ३० देखि ४० रुपियाँमा बिक्री भइरहेको छ। यसअघि बेमौसममा भने प्रतिकिलो ६० देखि ७० रुपियाँसम्ममा बिक्री हुने गरेको थियो।
गोलभेँडाका अतिरिक्त गाउँपालिकाका विभिन्न क्षेत्रमा अन्य तरकारी खेती पनि विस्तार भएको छ। साब्लाखु, सिङ्गेदिन, मेहेले, सुरुमखिम र आङ्खोप क्षेत्रमा सयौँ परिवार बोडी, सिमी, रुखटमाटर र निगुरो खेतीमा संलग्न छन्। स्थानीय स्तरमा कृषि उत्पादन बढेसँगै कृषकको आयआर्जनमा सुधार हुनुका साथै गाउँपालिकाको आर्थिक गतिविधिमा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
