काठमाडौं: अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले प्रविधि क्षेत्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगमा पार्न सक्ने प्रभावबारे लगानीकर्ताहरूमा चासो बढेपछि विश्व सेयर बजारमा उतारचढाव देखिएको छ।
बुधबार कारोबारको सुरुवाती चरणमा जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी परिसूचक ६ प्रतिशतसम्म घटेका थिए। यद्यपि, केही समयपछि बजारमा सुधारका संकेत देखिएका छन्। अमेरिकी सेयर बजारका फ्युचर्स परिसूचक भने केही घटेका छन्।
फ्युचर मार्केट्स इनसाइट्सकी नन्दिनी रोय चौधरीका अनुसार राजनीतिक अनिश्चितता र प्रविधि कम्पनीहरूको भविष्यप्रतिको चिन्ताले बजारमा अस्थिरता ल्याएको हो।
उनले डेमोक्रेटिक पार्टीको जितले प्रविधि कम्पनीहरूमाथिको निगरानी बढाउन सक्ने र एआई विकासका लागि आवश्यक डाटा सेन्टर निर्माणमा थप नियमन हुन सक्ने सम्भावना औंल्याएकी छन्। अमेजन, अल्फाबेट र मेटाजस्ता ठूला कम्पनीहरूले एआई पूर्वाधारका लागि अर्बौं डलर खर्च गर्ने योजना बनाएका छन्।
ईटोरोका जोस गिल्बर्टका अनुसार एआई पूर्वाधार निर्माणको काम तत्काल नरोकिए पनि थप निगरानी र संसदीय सुनुवाइले ठूला प्रविधि कम्पनीहरूको गतिविधिमा प्रभाव पार्न सक्छ। यता, बुधबार बिहान युरोपेली सेयर बजारमा भने सकारात्मक सुरुवात देखिएको छ। लन्डनको एफटीएसई १०० परिसूचक ०.५७ प्रतिशतले बढेको छ भने फ्रान्सको क्याक ४० र जर्मनीको ड्याक्स परिसूचक क्रमशः ०.५६ र ०.६२ प्रतिशतले बढेर कारोबार सुरु गरेका छन्।
