बागलुङ। बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ। उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन्। त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छन्। फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ।
सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूलखेतीमा लागिन्। तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन्।
नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारीखेती छाडेर फूलखेती सुरु गरेकी हुन्। भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन्।
“लामो समयदेखि तरकारीखेती गर्दै आएकी थिएँ। तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूलखेतीमा लागेकी हुँ। तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,” थापाले भनिन्, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ। बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ।”
उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ। प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ।
बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ। उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन्।
हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छिन्। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ। तरकारी खेतीबाट फूलखेतीमा लाग्नुभएकी थापाका लागि फूलखेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ।
