काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले बर्दियामा मंसिरको पहिलो सातादेखि धान खरिद गर्ने भएको छ। कम्पनीले यस वर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। जिल्लाका आठवटै स्थानीय तहबाट धान खरिद गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेका अनुसार प्राथमिक खरिद समितिले तिहारको बिदाका कारण मंसिरको पहिलो सातादेखि खरिद कार्य सुरु गर्ने निर्णय गरेको हो। कम्पनीले प्रत्येक पालिकाबाट तीन हजार क्विन्टलका दरले २४ हजार क्विन्टल धान खरिद गर्ने र बाँकी छ हजार क्विन्टल कम्पनीको प्राङ्गणबाट खरिद गर्ने योजना बनाएको छ।
सरकारले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपियाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपियाँ तोकेको छ। गत वर्ष मोटो धानको मूल्य ३ हजार ४ सय ६३ रुपियाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपियाँ तोकिएको थियो।
धान खरिदमा ढिलाइ हुँदा किसानहरू सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन्। गुलरिया नगरपालिका-२ का स्थानीय किसान लोकप्रसाद भुषलका अनुसार स्थानीय व्यापारीहरूले अहिले मोटो धान प्रतिक्विन्टल २ हजार ८ सय रुपियाँमा खरिद गरिरहेका छन्। भण्डारणको सुविधा नभएका किसानहरूले सस्तो मूल्यमा धान बिक्री गरिसकेको उनले बताए।
गत वर्ष कम्पनीले कात्तिक १९ गतेदेखि धान खरिद सुरु गरेको थियो। उक्त समयमा कम्पनीले जिल्लाका छ वटा पालिकाबाट ३० हजार २ क्विन्टल धान खरिद गरेको थियो।
