काठमाडौं: पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आर्थिक वर्ष २०२६-२७ मा मुलुकको आर्थिक वृद्धिदर ३.५ देखि ४.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ। सोमबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०२५-२६ को वार्षिक प्रतिवेदनमा आन्तरिक मागमा सुधार तथा कृषि र औद्योगिक उत्पादनमा हुने वृद्धिले अर्थतन्त्रलाई टेवा पुग्ने उल्लेख छ।
प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा निरन्तर वृद्धि हुने अपेक्षा गरिएको छ। यसले आर्थिक वर्ष २०२६-२७ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको शून्यदेखि एक प्रतिशतको सीमाभित्र राख्न सहयोग पुग्ने बैंकको भनाइ छ। धान, उखु र मकैजस्ता प्रमुख बालीको उत्पादन बढ्ने अनुमान गरिए पनि एल निनोको प्रभावले कृषि क्षेत्रमा जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
विश्व बजारमा वस्तुको मूल्य बढ्दा आयातमा वृद्धि हुने र सरकारी नीतिगत प्रोत्साहनका कारण निर्यातमा मध्यम सुधार आउने प्रतिवेदनमा उल्लेख छ। गत सेप्टेम्बरमा जारी गरिएको तीन अर्ब अमेरिकी डलर बराबरको युरोबन्ड तथा सरकारी वित्तीय प्रवाहले विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गर्नेछ। यसबाट सञ्चितिले करिब चार महिनाको आयात धान्न सक्ने लक्ष्य राखिएको छ।
केन्द्रीय बैंकका अनुसार ऊर्जाको मूल्य बढ्दा मुद्रास्फीतिमा केही दबाब रहे पनि आर्थिक वर्ष २०२६-२७ मा यो क्रमशः घट्दै मध्यम अवधिको ५ देखि ७ प्रतिशतको लक्ष्यभित्र रहने अनुमान छ। बैंकले अर्थतन्त्रमा लचिलोपन देखिएको बताउँदै दिगो वृद्धिका लागि निजी लगानी, पूर्वाधार विकास, सीप अभिवृद्धि र कर प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएको छ। साथै, जलवायु परिवर्तनबाट कृषि क्षेत्रलाई जोगाउन सौर्य ऊर्जाको प्रयोग विस्तार गर्नुपर्ने सुझाव पनि दिइएको छ।
