काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रूपमा ग्रहण गर्दै अघि बढाउने बताउनुभएको छ ।
सोमबार सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनःउत्थान र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने समेत बताउनुभयो ।
उहाँले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित हुनेगरी राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरू पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो,“सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रूपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनःउत्थान र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरू पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने छ । सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी राजस्व चुहावट मुक्त आर्थिक क्षेत्रको विकास गरिने छ ।”
राष्ट्रपति पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममार्फत अघि बढाउने पनि बताउनुभयो ।