Logo

स्मार्ट टेलिकम प्रकरण : बैंकका सीईओ पाण्डे पक्राउ

अ+ अ-

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रा.लि.को लाइसेन्स र सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

प्राधिकरणले जमल, काठमाडौँस्थित कार्यालयबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि स्मार्ट टेलिकमलाई अनुमतिपत्र (BTSL-01) प्रदान गरेको थियो । कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो । त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार तथा दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान अनुसार नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक हानि पुर्‍याउने उद्देश्यले लिलामी प्रक्रियामा संलग्न भएको भन्दै सीईओ पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको हो । उहाँ लोन रिकभरी कमिटीका अध्यक्षको हैसियतले पनि प्रक्रियामा संलग्न रहेको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार पाण्डे आफ्नो मोबाइल फोन अफ गरेर फरार हुने क्रममा थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा २०८३ वैशाख २९ गते राति करिब ८ बजे उहाँलाई पक्राउ गरेको हो । हाल उहाँमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनामा स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण जडान भएका घर–जग्गा धनीलाई बुझाउनुपर्ने बाँकी घरबहाल र विद्युत् महसुलसमेत करिब ४० करोड रुपियाँ लिलामी रकममा समावेश गरिएको थियो । तर उक्त रकम घरधनीलाई नबुझाई बैंकले आफैं राखेको आरोपसमेत लागेको छ । सोही विषयमा पनि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।