एजेन्सी । फोल्डेबल स्मार्टफोन बजारमा सामसङ र गुगलको प्रतिस्पर्धाबीच एप्पल पनि प्रवेश गर्ने तयारीमा छ । पछिल्ला रिपोर्टअनुसार एप्पलले पहिलो फोल्डेबल आईफोनलाई आईफोन अल्ट्रा नाममा सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो आईफोन १८ प्रो सिरिजसँगै सार्वजनिक हुनसक्ने बताइएको छ । तर सुरुवाती चरणमा अमेरिकी बजारमा मात्र बिक्री हुने सम्भावना देखिएको छ ।
रिपोर्टअनुसार एप्पलले फोल्डेबल आईफोनको आपूर्ति शृंखला, परीक्षण र मूल्य निर्धारणमा चुनौती सामना गरिरहेको छ । एक चिनियाँ कम्पोनेन्ट आपूर्तिकर्तालाई उद्धृत गर्दै सार्वजनिक विवरणमा उत्पादन भइसकेका केही मोडलमा समेत परीक्षणसम्बन्धी समस्या देखिएको उल्लेख छ ।
यसै कारण एप्पलले पहिलो चरणमा सीमित बजारबाट बिक्री सुरु गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकामा उपलब्ध भएपछि चीनसहित अन्य प्रमुख बजारमा विस्तार गर्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
फोल्डेबल आईफोन सेप्टेम्बरमा हुने एप्पलको विशेष कार्यक्रममा सार्वजनिक हुनसक्ने चर्चा छ । यद्यपि कार्यक्रमको मिति भने अझै निश्चित भइसकेको छैन । सेप्टेम्बर ८ र ९ मध्ये कुन दिन कार्यक्रम हुन्छ भन्ने विषयमा फरकफरक दाबी सार्वजनिक भइरहेका छन् ।
७.८ इन्चको ठूलो भित्री डिस्प्ले
हालै लक्जरी ब्रान्ड क्याभियारले सार्वजनिक गरेको विवरणअनुसार आईफोन अल्ट्रामा ५.३ इन्चको बाहिरी र ७.८ इन्चको भित्री डिस्प्ले हुनसक्छ । दुवै स्क्रिनमा १२० हर्ज रिफ्रेस रेटसहित एलटीपीओ ओएलईडी प्यानल प्रयोग हुने दाबी गरिएको छ ।
फोल्डेबल फोनको सबैभन्दा ठूलो चुनौती मानिने स्क्रिनको बीचमा देखिने खुम्च्याइ कम गर्न नयाँ हिन्ज र लचिलो सिसा प्रयोग गरिने बताइएको छ । यसले फोल्ड खोल्दा स्क्रिनमा देखिने क्रिज लगभग अदृश्य बनाउने दाबी छ ।
४.५ मिलिमिटर मोटाइ र १२ जीबी र्याम
आईफोन अल्ट्रामा टाइटेनियम बडी प्रयोग हुने र खुलाउँदा यसको मोटाइ ४.५ मिलिमिटर तथा फोल्ड गर्दा ९ मिलिमिटर रहने दाबी गरिएको छ । फोन डिप ब्ल्याक र प्योर ह्वाइट गरी दुई रंगमा आउन सक्नेछ ।
प्रोसेसिङका लागि टीएसएमसीको ३ न्यानोमिटर प्रविधिमा आधारित ए२० प्रो चिप र १२ जीबी र्याम रहने बताइएको छ । ठूलो फोल्डेबल डिस्प्ले र शक्तिशाली हार्डवेयरका कारण मल्टिटास्किङमा आईप्याडजस्तै अनुभव दिने अपेक्षा गरिएको छ ।
क्यामेरा सेटअपमा पछाडि ४८ मेगापिक्सेलका दुई क्यामेरा तथा अगाडि २४ मेगापिक्सेलको अन्डर डिस्प्ले क्यामेरा रहने दाबी छ । अगाडिको क्यामेरा स्क्रिनमुनि लुकाइने भएकाले डिस्प्लेमा क्यामेरा कटआउट नदेखिने बताइएको छ ।
सबैभन्दा ठूलो दाबी ब्याट्रीमा छ । आईफोन अल्ट्रामा ५ हजार ८०० एमएएच क्षमताको ब्याट्री रहने उल्लेख गरिएको छ । यो विवरण सही भएमा एप्पलको इतिहासमै सबैभन्दा ठूलो क्षमताको ब्याट्री भएको आईफोन बन्नेछ ।
यद्यपि यीमध्ये अधिकांश विवरण एप्पलले आधिकारिक रूपमा पुष्टि गरेको छैनन् । त्यसैले डिजाइन, स्पेसिफिकेसन, बजार उपलब्धता र मूल्यसम्बन्धी दाबीलाई हालका रिपोर्ट र लिकका रूपमा लिनुपर्ने हुन्छ।
