Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालमै बनेको यात्री पीटू हेर्न कारखानामा पुगे अर्थमन्त्री

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पीटू’ को प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटर निर्माण प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली प्रविधि, इन्जिनियरिङ र उत्पादन क्षमताको विकासलाई सरकारले प्राथमिकता दिने बताएका हुन्।

‘यात्री पीटू’ नेपालमै डिजाइन र निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले गुणस्तर र विश्व बजारमा प्रतिस्पर्धी बन्ने गरी उत्पादन विस्तार गर्न कम्पनीलाई सुझाव दिए।

‘तपाईंहरूले गरेको मेहनत सराहनीय छ। यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो। गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ,’ अर्थमन्त्री वाग्लेले भने।

नेपालले आफ्नै डिजाइन र इन्जिनियरिङ क्षमताबाट विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण गर्नु औद्योगिक विकासका दृष्टिले महत्वपूर्ण कदम भएको उनको भनाइ थियो। उनले नेपाली उत्पादनलाई घरेलु बजारमा सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति बनाउनसमेत सुझाव दिए।

‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरूले धेरैभन्दा धेरै काम नेपालमै गर्नुस्। सरकारले के सहयोग गर्नुपर्छ भन्नुस्। तर विश्व बजारमा फैलिन अरू के गर्न सकिन्छ भन्नेमा पनि सोच्नुपर्छ,’ उनले भने।

नेपाली इन्जिनियर तथा डिजाइनरले गरेको कामको प्रशंसा गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तर र प्रविधिमा निरन्तर सुधार गर्नुपर्ने बताए। उनले नेपाली उत्पादन अमेरिकी पहाडसम्म पुग्न सकोस् र विदेशमा रहेका नेपालीले समेत खोजीखोजी नेपाली ब्रान्ड प्रयोग गर्ने अवस्था बनोस् भन्ने शुभकामना दिए।

कारखाना अवलोकनका क्रममा यात्री विद्युतीय बाइकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्री वाग्लेलाई ‘यात्री पीटू’को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा तथा स्कुटरको परीक्षणका क्रममा प्राप्त अनुभवबारे जानकारी गराएका थिए।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटर डिजाइन र उत्पादन गर्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। नेपालमै दुईपांग्रे सवारीसाधनको डिजाइन, इन्जिनियरिङ र उत्पादन गर्न सक्ने क्षमता विकास हुनु औद्योगिक क्षेत्रका लागि नयाँ सुरुवात भएको उनको भनाइ थियो।

उनका अनुसार नेपाली भूगोलअनुकूल हुने गरी कठिन तथा जटिल पहाडी र हिमाली क्षेत्रमा स्कुटरको परीक्षण गरिएको छ। परीक्षण सफल भएपछि ‘यात्री पीटू’लाई केही दिनमै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अधिकारीहरूका अनुसार ‘यात्री पीटू’मा प्रयोग गरिएको डीसी चार्जिङ प्रणाली दुईपांग्रे विद्युतीय सवारीसाधनका क्षेत्रमा विशेष विशेषता हो। नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो स्कुटरलाई अन्तर्राष्ट्रिय गुणस्तरअनुसार परीक्षणसमेत गरिएको कम्पनीको दाबी छ।

श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले ब्याट्री तथा स्कुटरका पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताए। स्थानीय उत्पादनको लागत घटाउन र स्वदेशमै उत्पादनको हिस्सा बढाउन नीतिगत सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

‘यात्री पीटू’ केही दिनमै सार्वजनिक गर्ने तयारी भए पनि कम्पनीले यसको विस्तृत डिजाइन तथा प्राविधिक विशेषता अहिलेलाई गोप्य राखेको छ।

नेदरल्यान्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यसहित ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए। कम्पनीले नेपालमै डिजाइन र इन्जिनियरिङ गर्ने अवधारणाबाट विद्युतीय दुईपांग्रे सवारीसाधन विकास गर्दै आएको छ।

पछिल्लो समय यात्री मोटरसाइकल सिप्रदी ट्रेडिङसँग व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको हो। यही सहकार्यअन्तर्गत नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको ‘यात्री पीटू’लाई नेपाली विद्युतीय दुईपांग्रे बजारमा नयाँ उत्पादनका रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

कम्पनीले नेपाली भूगोल, सडक अवस्था र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन विकास गरेको जनाएको छ। ‘यात्री पीटू’ बजारमा आएपछि नेपालमै डिजाइन तथा उत्पादन भएका विद्युतीय दुईपांग्रे सवारीसाधनको प्रतिस्पर्धा थप विस्तार हुने अपेक्षा गरिएको छ।

2