बारा । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा औद्योगिक गतिविधि बढ्न थालेको छ। सात उद्योगले उत्पादन सुरु गरी बजारमा बिक्री वितरण थालेका छन् भने थप ११ उद्योग निर्माणको अन्तिम चरणमा पुगेका छन्। सञ्चालनमा आएका र निर्माणाधीन उद्योगमा करिब ५ अर्ब रुपैयाँ लगानी भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ।
सिमरा सेजका साइट इन्चार्ज रामसिंह मालका अनुसार सञ्चालनमा रहेका उद्योगले ८०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन्। सञ्चालनमा रहेका उद्योगमा नेपाली तथा विदेशी लगानीकर्ताको लगानी छ।
टायल उत्पादक पशुपति सेरामिक्स एटीएस ठूलो लगानीको उद्योग हो। नेपाली–भारतीय संयुक्त लगानीको नेपोभिट सेरामिक्स उत्पादनको तयारीमा छ। न्युजिल्यान्डका लगानीकर्ताको लगानीमा बायो कम्प नेपाल पनि सञ्चालनमा छ। ब्रिलिएन्ट सुज, लक्ष्मी ग्रेनाइट, बालाजी म्यानुफ्याक्चरिङ र नेपाल एग्रो टुल्सलगायत उद्योग सञ्चालन तथा उत्पादन विस्तारको प्रक्रियामा छन्।
११ उद्योगमा विदेशी लगानी
सञ्चालनमा आएका र निर्माणाधीन १८ उद्योगमध्ये ११ वटामा विदेशी लगानी रहेको सेजका वरिष्ठ सूचना प्रविधि अधिकृत सागर सिलवालले बताए। केही उद्योग पूर्ण विदेशी लगानीमा छन् भने केही नेपाली–विदेशी संयुक्त लगानीमा निर्माण भइरहेका छन्।
दक्षिण कोरियाली लगानीको केमेक्स हिमालय, नेपाली–भारतीय लगानीका रेम्बो ग्रेनाइट र इन्डो एग्रो तथा भारतीय लगानीका ओमकार, ओम मेगाश्री र मा तारा निर्माणाधीन छन्। चिनियाँ लगानीका ग्याङ उइङ बायो टेक्नोलोजी र एसियन भेहिकल्स तथा नेपाली–चिनियाँ लगानीको ला डी कर पनि निर्माणकै चरणमा छन्।
हुलास केवल र एभरेष्ट फेसनलगायत उद्योगसमेत निर्माणाधीन छन्। यी उद्योग सञ्चालनमा आएपछि थप करिब १ हजार रोजगारी सिर्जना हुने प्राधिकरणको अनुमान छ।
भाडा घटेपछि बढ्यो आकर्षण
सरकारले सेजको जग्गा भाडा प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँमा झारेपछि लगानीकर्ताको आकर्षण बढेको सिलवालले बताए। सिमरा सेजको ए ब्लकका ६८ प्लटमध्ये ६७ वटा भाडामा गइसकेका छन्।
भाडा घटेसँगै उद्योग स्थापनाका लागि बढेको चासोले यसअघि सेजको जग्गा भाडा लगानीकर्ताका लागि महँगो रहेको देखाएको प्राधिकरणको बुझाइ छ।
