Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बेटिङ क्रिप्टोको जालो फैलिँदै

बेटिङ क्रिप्टोको जालो फैलिँदै
A A+ A-

काठमाडौं । मोबाइलमा देखिने एउटा खेल, सामाजिक सञ्जालमा आएको एउटा आकर्षक सन्देश र डिजिटल वालेटमा जम्मा हुने केही हजार रुपैयाँबाट सुरु हुने अनलाइन बेटिङ अहिले नेपालमा सामान्य जुवाको सीमाभन्दा धेरै पर पुगिसकेको छ । यसको पछाडि बैंक खाता, डिजिटल वालेट, सामाजिक सञ्जाल, विदेशी नागरिक, क्रिप्टोकरेन्सी र सीमापार रकम स्थानान्तरणसम्म जोडिएको सञ्जाल देखिन थालेको छ ।

पछिल्लो तीन आर्थिक वर्षमा मात्रै अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ४२७ जना पक्राउ परेका छन् । त्यसमध्ये बेटिङतर्फ २ सय ७२ र क्रिप्टोकरेन्सीतर्फ १ सय ६९ जना छन् । तर पक्राउको यो संख्या भन्दा अनुसन्धानमा खुलेका कारोबार रकमले जोखिमको आकार ठूलो देखाउँछ । कतिपय घटनामा एउटै व्यक्तिका नाममा दर्जनौँ बैंक खाता र सयौँ डिजिटल वालेट भेटिएका छन् भने कतिपय क्रिप्टो कारोबार अर्ब रुपैयाँभन्दा माथि पुगेका छन् ।

पछिल्लो तथ्यांकले अर्को विरोधाभास पनि देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा अनलाइन बेटिङमा १ सय ४८ र क्रिप्टोकरेन्सी कारोबारमा १ सय १७ जना पक्राउ परेका थिए । गत आर्थिक वर्ष २०८२/८३ मा यो संख्या क्रमशः ४८ र ४२ मा झरेको छ । पक्राउ घटेको देखिए पनि प्रहरीले समस्या नियन्त्रणमा आएको दाबी गरेको छैन । बरु अहिले अनुसन्धानको केन्द्र व्यक्ति पक्राउबाट सञ्जाल, कारोबार र पैसाको अन्तिम गन्तव्यतर्फ सरेको प्रहरीको पछिल्लो सक्रियताले देखाउँछ ।

पक्राउ घटे पनि कारोबारको आकार ठूलो

तीन आर्थिक वर्षको तथ्यांक हेर्दा अनलाइन बेटिङमा आर्थिक वर्ष २०८०/८१ मा ६२ जना पक्राउ परेका थिए । त्यसमा १३ जना विदेशी नागरिक थिए । आर्थिक वर्ष २०८१/८२ मा पक्राउ संख्या बढेर १ सय ४८ पुग्यो, जसमा ९३ जना विदेशी नागरिक थिए । गत आर्थिक वर्षमा भने ४८ जना पक्राउ परे, त्यसमध्ये २६ जना विदेशी र २२ जना नेपाली नागरिक छन् ।

क्रिप्टोकरेन्सीमा पनि उस्तै उतारचढाव छ । आर्थिक वर्ष २०८०/८१ मा १० जना पक्राउ परेकोमा २०८१/८२ मा संख्या एकैपटक १ सय १७ पुग्यो । गत आर्थिक वर्षमा ४२ जना पक्राउ परेका छन् । यसपटक पक्राउ परेकामध्ये ३५ जना नेपाली र सात जना विदेशी छन् ।

यसलाई सामान्य रूपमा हेर्दा कारोबार घटेको जस्तो देखिन सक्छ । तर प्रहरीकै पछिल्ला अनुसन्धानले यस्तो निष्कर्षलाई समर्थन गर्दैन । गत भदौ ३ गते सार्वजनिक गरिएको विवरणमा प्रहरीले पछिल्ला केही घटनामा करोडौँ रुपैयाँको क्रिप्टो कारोबार गर्ने विदेशी तथा नेपाली नागरिक पक्राउ परेको जनाएको छ । चिनियाँ नागरिक झु यी फेङबाट मात्रै १७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार भएको खुलेको छ । बंगलादेशी नागरिक एमडी शेहाबुल इस्लामबाट ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको विवरण छ ।

अर्थात् समस्या पक्राउ पर्ने मानिसको संख्याले मात्र नापिँदैन । एउटा व्यक्तिले ठूलो कारोबार गरेको अवस्थामा पक्राउ संख्या कम भए पनि जोखिमको आर्थिक आकार ठूलो हुन सक्छ । यही कारण प्रहरी अहिले संख्या होइन, कारोबारको ढाँचा र नेटवर्कलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ ।

एउटै व्यक्तिका दर्जनौँ खाता

अनलाइन बेटिङको अनुसन्धानमा सबैभन्दा गम्भीर पक्ष रकमको व्यवस्थापन हो । खेलाडीले आफ्नो खाताबाट पैसा हाल्छ र निकाल्छ भन्ने सामान्य बुझाइभन्दा बाहिर गएर प्रहरीले विभिन्न व्यक्तिका नाममा खोलिएका बैंक खाता, डिजिटल वालेट र मोबाइल नम्बरको जालो फेला पार्दै आएको छ ।

एउटै व्यक्तिका नाममा अस्वाभाविक रूपमा धेरै बैंक खाता वा डिजिटल वालेट सञ्चालन हुनु आफैँमा वित्तीय जोखिमको संकेत हो । त्यस्ता खाताबाट रकम भित्रिने र बाहिरिने क्रम लगातार देखिएपछि अनुसन्धानकर्ताले त्यसलाई सम्भावित संगठित कारोबारको कोणबाट हेर्नुपर्छ ।

नेपाल प्रहरीले पछिल्लो समय बैंकिङ तथा डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीलाई विशेष प्राथमिकता दिएको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिबारे गोप्य सूचना संकलनसँगै अनलाइन सट्टाबाजीमा संलग्न नेटवर्कको डिजिटल निगरानी तथा बैंकिङ र डिजिटल वालेटको कारोबारमा समेत निगरानी बढाइएको बताएका छन् ।

यसको अर्थ प्रहरीको अनुसन्धान अब बेटिङको वेबसाइटमा रोकिँदैन । वेबसाइट कसले चलायो, प्रयोगकर्तालाई कसले जोड्यो, रकम कुन खातामा आयो, कसले निकाल्यो, कुन वालेट प्रयोग भयो र पैसा अन्ततः कहाँ पुग्यो भन्ने प्रश्न अनुसन्धानको मुख्य हिस्सा बनेको छ ।

यही ठाउँमा अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी जोडिन्छ । बेटिङबाट संकलित रकम बैंक वा डिजिटल वालेटमा जम्मा हुन सक्छ । त्यहाँबाट अर्को खातामा सारिन सक्छ । त्यसपछि क्रिप्टोकरेन्सीमा रूपान्तरण गरेर सीमापार पठाउन खोज्न सकिन्छ ।

पैसा पटक–पटक माध्यम परिवर्तन गर्दै अघि बढ्दा प्रारम्भिक स्रोत पहिचान गर्न कठिन हुन्छ । यही कारण बेटिङलाई केवल जुवाको कसुरका रूपमा हेर्नुभन्दा वित्तीय अपराधको सम्भावित प्रवेशद्वारका रूपमा हेर्नुपर्ने अवस्था बनेको छ ।

खेलकुदसँगै सक्रिय हुन्छ सञ्जाल

अनलाइन बेटिङको बजार विस्तारमा खेलकुद प्रतियोगिताको ठूलो भूमिका रहेको प्रहरीको अनुभव छ । विशेषगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेका बेला विभिन्न बेटिङ प्लेटफर्म सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।

क्रिकेट र फुटबलजस्ता लोकप्रिय खेलमा नतिजामात्र होइन, खेलभित्रका विभिन्न घटनामा समेत सट्टा लगाउन मिल्ने प्लेटफर्महरू सञ्चालनमा हुन्छन् । सामाजिक सञ्जालमार्फत यस्ता प्लेटफर्मका लिङ्क, प्रचार सामग्री र आकर्षक बोनस नेपाली प्रयोगकर्तासम्म पुर्‍याइन्छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत मानिसलाई बेटिङमा आकर्षित गर्ने प्रक्रिया पनि देखिएको छ । सुरुमा सामान्य खेल वा बोनसको माध्यमबाट प्रयोगकर्तालाई जोड्ने, त्यसपछि रकम जम्मा गर्न लगाउने र क्रमशः ठूलो रकम कारोबारतर्फ लैजाने प्रवृत्तिलाई प्रहरीले जोखिमका रूपमा लिएको छ । अनलाइन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग समेत जोडिन सक्ने प्रहरीको निष्कर्ष छ ।

यसले बेटिङको वास्तविक बजार बुझ्न अर्को तथ्य देखाउँछ । यहाँ ‘खेलाडी’ मात्र छैन । प्रयोगकर्ता खोज्ने व्यक्ति, सामाजिक सञ्जालबाट प्रचार गर्ने व्यक्ति, रकम संकलन गर्ने व्यक्ति, बैंक खाता उपलब्ध गराउने व्यक्ति, डिजिटल वालेट चलाउने व्यक्ति र आवश्यक परे क्रिप्टोमार्फत रकम सार्ने व्यक्ति हुन सक्छन् ।

यस्तो संरचनामा सबैभन्दा माथिको व्यक्ति पक्राउ नपर्न पनि सक्छ । तल्लो तहका प्रयोगकर्ता वा खातावाला मात्रै पक्राउ पर्न सक्छन् । त्यसैले कारबाहीको प्रभावकारिता मापन गर्न पक्राउ संख्या मात्र पर्याप्त हुँदैन ।

क्रिप्टोले खोल्यो सीमापार बाटो

नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता छैन । नेपाल राष्ट्र बैंकले बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैरकानुनी रहेको स्पष्ट गर्दै आएको छ । तर प्रतिबन्धका बाबजुद यसको प्रयोग र कारोबारसम्बन्धी घटना अनुसन्धानमा आइरहेका छन् ।

यसको जोखिमलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले पनि छुट्टै अध्ययन गरेको छ । इकाइले सन् २०२५ को ‘भर्चुअल सम्पत्ति’सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन प्रकाशित गरेको छ । प्रतिवेदन वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय जोखिम पहिचान गर्ने नेपालकै आधिकारिक वित्तीय सूचना संयन्त्रसँग सम्बन्धित अध्ययन हो ।

वित्तीय जानकारी इकाइको संरचना नै शंकास्पद वित्तीय कारोबारको सूचना संकलन, विश्लेषण र सम्बन्धित निकायमा पठाउने कामसँग जोडिएको छ । त्यसैले भर्चुअल सम्पत्तिमाथि छुट्टै रणनीतिक विश्लेषण हुनु नेपालमा क्रिप्टोकरेन्सी अब केवल प्रविधिको विषय नभई वित्तीय अपराध नियन्त्रणको विषयसमेत बनिसकेको संकेत हो ।

नेपालमा क्रिप्टोमाथिको प्रतिबन्धको कारण पनि यही हो । क्रिप्टोकरेन्सीमा केन्द्रीय बैंकको प्रत्यक्ष नियन्त्रण हुँदैन । परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर कारोबार गर्न सकिने, सीमापार स्थानान्तरण सहज हुने र वास्तविक लाभग्राही पहिचान गर्न कठिन हुन सक्ने भएकाले यसको दुरुपयोगको जोखिम बढी हुन्छ ।

प्रहरीको पछिल्लो अनुसन्धानमा विदेशी नागरिकसमेत उल्लेख्य रूपमा पक्राउ पर्नुले यो जोखिम नेपालभित्र मात्र सीमित नभएको देखाउँछ । गत आर्थिक वर्ष क्रिप्टो कारोबारमा पक्राउ परेका ४२ जनामध्ये सात जना विदेशी नागरिक छन् । अघिल्लो आर्थिक वर्षमा पक्राउ परेका १ सय १७ जनामध्ये ४५ जना विदेशी नागरिक थिए ।

यसले नेपाललाई प्रयोगकर्ता बजारका रूपमा मात्र होइन, सीमापार डिजिटल कारोबारको एउटा तहका रूपमा प्रयोग गरिएको हुनसक्ने सम्भावनातर्फ अनुसन्धानलाई धकेलेको छ ।

अब वेबसाइट होइन पैसा पछ्याउनुपर्ने

अनलाइन बेटिङ नियन्त्रणमा राज्यले वेबसाइट तथा डिजिटल पहुँच रोक्ने प्रयास गर्दै आएको छ । तर डिजिटल अपराधको प्रकृति यस्तो छ कि एउटा वेबसाइट बन्द हुँदा अर्को वेबसाइट खुल्न सक्छ । एउटा सामाजिक सञ्जाल खाता बन्द हुँदा अर्को खाता बन्न सक्छ । एउटा बैंक खाता रोकिँदा अर्को व्यक्तिको खाता प्रयोग हुन सक्छ ।

त्यसैले अबको प्रभावकारी अनुसन्धानको केन्द्र वेबसाइट होइन, पैसाको बाटो हुनुपर्ने देखिन्छ । कुन खातामा रकम अस्वाभाविक रूपमा जम्मा भइरहेको छ ? कुन खाताबाट छोटो समयमा ठूलो रकम बाहिरिरहेको छ ? एउटै व्यक्तिले कति बैंक खाता वा डिजिटल वालेट चलाइरहेको छ ? विदेशीसँग सम्बन्धित रकमको प्रवाह कहाँ छ ? सामाजिक सञ्जालमा प्रचार गर्ने व्यक्ति र रकम संकलन गर्ने व्यक्तिबीच के सम्बन्ध छ ? अनि ती रकम क्रिप्टोकरेन्सीमा परिणत भएर कहाँ पुगिरहेका छन् ? यी प्रश्नको उत्तरले मात्रै वास्तविक सञ्जाल खुल्न सक्छ ।

नेपाल प्रहरी स्वयंले अहिले बैंकिङ तथा डिजिटल वालेट कारोबारको निगरानी बढाएको जनाएको छ । यसको अर्थ अनुसन्धानको प्राथमिकता व्यक्तिबाट वित्तीय संरचनातर्फ सर्दै गएको छ ।

तर यहाँ राज्यको अर्को कमजोरी पनि देखिन्छ । प्रहरीसँग अनुसन्धानको अधिकार भए पनि बैंकिङ कारोबार, डिजिटल वालेट, दूरसञ्चार, सामाजिक सञ्जाल र क्रिप्टो कारोबार फरक–फरक प्रणालीमा छन् । एउटै घटनामा यी सबै प्रणाली जोडिन्छन् । त्यसैले सूचना आदानप्रदानमा ढिलाइ भयो भने अपराधीले रकम र डिजिटल पहिचान दुवै सार्न सक्छ ।

यही कारण वित्तीय जानकारी इकाइ, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, साइबर अनुसन्धान निकाय, दूरसञ्चार नियामक, बैंक तथा वित्तीय संस्था र डिजिटल भुक्तानी सेवा प्रदायकबीचको समन्वय निर्णायक हुनेछ । वित्तीय अपराधको अनुसन्धानमा सूचना संकलन र विश्लेषण गर्ने केन्द्रीय संयन्त्रका रूपमा वित्तीय जानकारी इकाइको भूमिका यही कारण महत्वपूर्ण छ ।

कानुनी पक्ष पनि कमजोर छैन । सट्टाबाजीसम्बन्धी कसुरमा प्रयोग भएको बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । क्रिप्टोकरेन्सीसम्बन्धी कसुरमा बिगो तथा त्यसबाट बढेको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाको व्यवस्था छ ।

तर अपराधको संरचना बदलिएको छ । पहिले जुवा खेल्ने व्यक्ति र खेलाउने व्यक्ति पहिचान गरे पुग्थ्यो । अहिले त्यसको पछाडि डिजिटल प्रचारक, खाता व्यवस्थापक, वालेट सञ्चालक, रकम संकलक, प्राविधिक सहयोगी र सीमापार कारोबार व्यवस्थापन गर्ने तह हुन सक्छन् ।

त्यसैले अबको सफलता कति जना पक्राउ परे भन्नेमा होइन, कति ठूलो सञ्जाल भत्कियो भन्नेमा मापन गर्नुपर्ने हुन्छ ।

पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले नेपालमा अनलाइन बेटिङ र क्रिप्टो कारोबारको समस्या एक वर्ष बढेर अर्को वर्ष हराउने प्रकृतिको नभएको देखाएको छ । पक्राउ संख्या घटबढ भए पनि गतिविधि निरन्तर देखिन्छ । झन् पछिल्ला घटनामा करोडौँ रुपैयाँको कारोबार र विदेशी नागरिकको संलग्नता देखिनुले यसको सीमापार चरित्र स्पष्ट पार्दै गएको छ ।

अब राज्यले स्क्रिनमा देखिएको बेटिङ एप मात्र हेरेर पुग्दैन । त्यो एपमा पैसा हाल्ने हात, पैसा राख्ने खाता, रकम घुमाउने वालेट र अन्तिम लाभ लिने व्यक्तिसम्म पुग्नुपर्छ ।

किनकि अहिले देखिएको तस्वीरमा बेटिङ अगाडिको खेल मात्र हो । त्यसको पछाडि पैसा छ । क्रिप्टो त्यस पैसालाई सीमापार लैजान सक्ने माध्यम बन्न सक्छ । सामाजिक सञ्जाल त्यसको ग्राहक खोज्ने बजार बन्न सक्छ । बैंक र डिजिटल वालेट रकम घुमाउने संरचना बन्न सक्छन् ।

यही चार तह जोडिँदा सामान्य अनलाइन जुवा सम्भावित वित्तीय अपराधको जालोमा बदलिन्छ ।

पक्राउको संख्या घट्दैमा जालो घटेको मान्न मिल्दैन । जालो साँघुरिएको प्रमाण त्यतिबेला मात्र देखिन्छ, जब त्यसको पैसा, सञ्जाल र अन्तिम लाभग्राहीसम्म पुगेर कारबाही हुन्छ । अहिले नेपालको चुनौती पनि यही हो ।

2