Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सडकमा अर्बौं लगानी, बालुवामा पानी

सडकमा अर्बौं लगानी, बालुवामा पानी
A A+ A-

काठमाडौं । नेपालमा सडक निर्माणभन्दा मर्मतका लागि राज्यले खर्च गर्ने रकम कम छैन । तर सडकको अवस्था हेर्दा त्यो लगानीको प्रतिफल देखिँदैन । पछिल्लो पाँच वर्षमा सडक मर्मतसम्भारका लागि ६८ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये ५५ अर्ब ९६ करोड रुपैयाँ निकासा भयो ।

तर खर्च भएको रकम करिब ३७ अर्ब ९० करोड रुपैयाँ मात्रै छ । अर्थात् सडक मर्मतका लागि छुट्याइएको रकमको झन्डै आधा हिस्सा काममा परिणत हुन सकेन । अझ खर्च भएको रकमले पनि सडकको दीर्घकालीन समस्या समाधान गरेको देखिँदैन । महालेखापरीक्षकको कार्यमूलक लेखापरीक्षणले सडक मर्मतको कमजोर अवस्था बजेट अभावले मात्र नभई योजना छनोट, ठेक्का प्रक्रिया, निकासा, भुक्तानी, अन्तरनिकाय समन्वय, जनशक्ति, सडक भार नियन्त्रण र मर्मतको प्राथमिकतामै रहेको देखाएको छ ।

राज्यले सडक प्रयोगकर्ताबाट पाँच वर्षमा ७५ अर्ब ३३ करोड रुपैयाँ संकलन गर्दा सडक मर्मतमा विनियोजित ६९ अर्ब पनि पूर्ण खर्च गर्न नसक्नुले नेपालको सडक व्यवस्थापनमा रहेको ठूलो विरोधाभास उजागर गरेको छ ।

विनियोजन ठूलो कार्यान्वयन कमजोर

सडक मर्मतको पाँच वर्षे हिसाब हेर्दा पहिलो समस्या बजेटको आकारमा देखिँदैन । समस्या बजेटलाई सडकमा उतार्ने क्षमतामा छ ।

महालेखाको विवरणअनुसार रणनीतिक तथा स्थानीय सडक मर्मतसम्भारका लागि पाँच वर्षमा ६८ अर्ब ७४ करोड रुपैयाँ विनियोजन भयो । तर ८१ दशमलव ४० प्रतिशत अर्थात् ५५ अर्ब ९६ करोड रुपैयाँ मात्रै निकासा भयो । निकासा भएको रकमको पनि सबै खर्च भएन । करिब ३७ अर्ब ९० करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

यसरी हेर्दा विनियोजित बजेटको ६७ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको देखिन्छ । अर्थात् सडकमा खाल्डा परेको, सडक भासिएको, कालोपत्रे उक्किएको वा संरचना जीर्ण भएको भन्दै बजेट छुट्याइए पनि त्यसको ठूलो हिस्सा वर्ष सकिँदा खर्चविहीन रहन्छ ।

यो अवस्था एउटा आर्थिक वर्षको समस्या होइन । लगातार पाँच वर्षदेखि दोहोरिएको प्रवृत्ति हो । महालेखाले यसको कारणमा योजना स्वीकृतिमा ढिलाइ, ठेक्का प्रक्रिया समयमा अघि नबढ्नु, निकासा तथा भुक्तानीमा समस्या, न्यून बजेट, सम्बन्धित निकायबीचको समन्वय अभाव र कार्यान्वयन गर्ने निकायको क्षमतालाई औँल्याएको छ ।

तर सडक मर्मतको मामिलामा ढिलाइको मूल्य अन्य सार्वजनिक निर्माणभन्दा महँगो हुन्छ । सडकमा देखिएको सानो क्षति समयमै नियन्त्रण गर्न नसक्दा त्यो संरचनागत क्षतिमा बदलिन्छ । त्यसपछि सामान्य मर्मतले पुग्दैन । पुनर्स्थापना वा पुनर्निर्माणमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँछ ।

अर्थात् अहिले बजेट खर्च नगर्दाको लागत भविष्यमा अझ ठूलो बजेटका रूपमा राज्यले तिर्नुपर्ने हुन्छ । सरकारले सडक उपयोग तथा मर्मत सुधार दस्तुरबाट पाँच वर्षमा ७५ अर्ब ३३ करोड रुपैयाँ संकलन गरेको तथ्यले यो विषयलाई झनै गम्भीर बनाउँछ । सडक प्रयोग गरेबापत नागरिक तथा व्यवसायबाट उठाइएको रकम सडककै मर्मत र सुधारमा पर्याप्त रूपमा फर्किन नसकेको देखिन्छ । यसले प्रश्न उठाउँछ, समस्या पैसाको हो कि पैसाको व्यवस्थापनको ?  महालेखाको निष्कर्षले दोस्रो विकल्पतर्फ संकेत गर्छ ।

रणनीतिक सडकमा ६० प्रतिशत मात्रै खर्च

देशको मुख्य यातायात प्रणाली धान्ने रणनीतिक सडकको अवस्था झन् कमजोर छ । सडक विभागले पछिल्लो पाँच वर्षमा रणनीतिक सडक मर्मतका लागि ५६ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसबाट ४९ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ निकासा भयो । तर खर्च ३० अर्ब १४ करोड रुपैयाँमा सीमित भयो ।

यो कुल विनियोजनको ६० दशमलव ५९ प्रतिशत मात्र हो । रणनीतिक सडकको मर्मतमा सडक विभागका विभिन्न महाशाखा, संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय, सडक डिभिजन कार्यालय, भारी उपकरण कार्यालयलगायतका निकाय संलग्न छन् । मर्मतसम्भार गर्ने कार्यालयको संख्या ६३ सम्म पुगेको अवस्थामा समेत खर्चको अवस्था कमजोर रहनुलाई महालेखाले गम्भीर विषय मानेको छ ।

यसले जिम्मेवारी धेरै निकायमा बाँडिए पनि परिणामको जवाफदेहिता स्पष्ट नभएको समस्या देखाउँछ । सडक कुन अवस्थामा छ, कहिले मर्मत गर्नुपर्छ, कति रकम लाग्छ, कुन सडकलाई पहिले प्राथमिकता दिने र मर्मत नगर्दा भविष्यमा कति क्षति हुन्छ भन्ने आधारमा बजेट निर्धारण हुनुपर्ने हो । तर योजना छनोट र बजेट विनियोजनबीच त्यस्तो वैज्ञानिक सम्बन्ध कमजोर रहेको महालेखाको प्रतिवेदनले संकेत गर्छ ।

महालेखाले रणनीतिक सडकको वास्तविक अवस्था, यातायातको चाप, मर्मतको आवश्यकता र कार्यान्वयन गर्ने कार्यालयको क्षमतासमेत मूल्यांकन गरेर बजेटको पर्याप्तता पुनरावलोकन गर्न भनेको छ ।

यसको अर्थ अहिलेको बजेट प्रणालीले सडकको वास्तविक आवश्यकता पूरा गरिरहेको छैन । अर्कोतर्फ, स्थानीय सडक मर्मतको खर्चसम्बन्धी पर्याप्त विवरणसमेत सडक बोर्डले महालेखालाई उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सडक समयमै मर्मत नहुँदा यातायात सेवा र जनसुरक्षामा असर परेको तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग हुन नसकेको महालेखाको निष्कर्ष छ ।

सरकारले सडक सञ्जाल विस्तार गरिरहेको छ । तर नयाँ सडक थपिँदै जाँदा त्यसको मर्मतसम्भारको दायित्व कति बढ्छ भन्ने हिसाबमा स्रोत र संस्थागत क्षमता बढाइएको देखिँदैन ।

सडक थप्ने नीति र सडक जोगाउने नीति एउटै गतिमा अघि नबढ्दा निर्माणमा खर्च भएको ठूलो रकम पनि केही वर्षमै क्षय हुने जोखिम बढेको छ ।

खाल्डा पुर्ने प्राथमिकता सडक जोगाउने होइन

सडक मर्मतको अर्को गम्भीर समस्या राज्यको प्राथमिकतामा छ । नेपालमा सडक मर्मतलाई नियमित, पटके, आवधिक, पुनर्स्थापना तथा पुनर्निर्माण, विशेष, आकस्मिक र सडक सुरक्षाजस्ता वर्गमा विभाजन गरिएको छ । यीमध्ये नियमित र पटके मर्मतले तत्काल देखिएको समस्या समाधान गर्छन् । आवधिक मर्मत तथा पुनर्स्थापना र पुनर्निर्माणले सडकको आयु लम्ब्याउँछन् ।

तर तथ्यांकले सडकको दीर्घकालीन संरक्षण गर्ने काम कमजोर रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ९ सय ३८ किलोमिटर सडक नियमित मर्मत गरिएको छ । ३ हजार ९ सय २९ किलोमिटरमा पटके मर्मत भएको छ ।

तर आवधिक मर्मतको लक्ष्य ५ सय ५ किलोमिटर रहेकामा ३ सय ६९ किलोमिटर मात्र सम्पन्न भयो । पुनर्निर्माणतर्फ ७५ किलोमिटरको लक्ष्य रहेकामा ३९ किलोमिटर मात्रै काम भएको छ ।

पाँच वर्षको प्रवृत्ति हेर्दा आवधिक मर्मतको प्रगति न्यूनतम ४२ प्रतिशतदेखि अधिकतम ७३ प्रतिशतसम्म मात्रै पुगेको छ । पुनर्स्थापना तथा पुनर्निर्माणको प्रगति पनि २१ प्रतिशतदेखि ७५ प्रतिशतको बीचमा छ ।

यही ठाउँमा नेपालको सडक मर्मत प्रणालीको मूल कमजोरी देखिन्छ । सडकमा खाल्डा परेपछि तत्काल टालिन्छ । कालोपत्रे उक्किएपछि फेरि सतह थपिन्छ । तर पानी निकास, सडकको आधार तह, संरचनागत कमजोरी, पुल तथा कल्भर्टजस्ता आधारभूत संरचनाको समयमै मर्मत हुन सकेन भने सडक फेरि बिग्रिन्छ ।

त्यसपछि फेरि मर्मतका लागि बजेट चाहिन्छ । यसरी सडक मर्मतको नाममा राज्यको पैसा लगातार खर्च हुन्छ तर सडकको उपयोगी आयु अपेक्षित रूपमा बढ्दैन ।

महालेखाले आवधिक मर्मतलाई प्राथमिकता दिनु भनेको यही चक्र तोड्न खोजेको हो । समयमै आवधिक मर्मत गरे सडकलाई ठूलो पुनर्निर्माणबाट जोगाउन सकिन्छ । तर आवधिक मर्मत ढिला भयो भने सानो क्षति ठूलो संरचनागत क्षतिमा बदलिन्छ ।

त्यसपछि राज्यले मर्मतभन्दा कैयौँ गुणा ठूलो रकम पुनर्निर्माणमा खर्च गर्नुपर्ने हुन्छ । त्यसैले सडक मर्मतमा खर्चको मात्रा मात्रै होइन, कुन काममा खर्च भयो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

सडक बिगार्ने कारणमाथि कारबाही छैन

सरकार सडक मर्मतमा पैसा खर्च गरिरहेको छ । तर सडक बिगार्ने मुख्य कारणमध्ये एउटा बढी भारवहन नियन्त्रण गर्न भने कमजोर देखिएको छ ।

महालेखाले त्रिभुवन राजपथ, महेन्द्र राजमार्गलगायतका सडकमा तोकिएको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन हुने गरेको उल्लेख गरेको छ ।

अत्यधिक भारका कारण सडकको सतह चिरिने, धसिने र खाल्डा पर्ने समस्या तीव्र हुन्छ । सडक निर्माण गर्दा तोकिएको भार क्षमताअनुसार संरचना तयार गरिन्छ । त्यसविपरीत बढी भारका सवारी नियमित सञ्चालन भए सडकको आयु घट्नु स्वाभाविक हो ।

यसले सरकारी खर्चको दोहोरो चक्र बनाएको छ । पहिले सडक मर्मतमा बजेट खर्च हुन्छ । त्यसपछि बढी भारका कारण सडक फेरि बिग्रिन्छ । फेरि मर्मतका लागि बजेट चाहिन्छ ।

महालेखाले तौल मापन प्रणाली प्रभावकारी बनाउन र भारवहन मापदण्ड कडाइका साथ लागू गर्न सुझाव दिएको छ । तर सडक संरक्षणमा समस्या सडकको सतहमा मात्रै छैन । पुलको अवस्था पनि चिन्ताजनक छ ।

सडक बोर्ड नियमावलीले पुल मर्मतका लागि छुट्टै कार्यक्रमको व्यवस्था गरेको भए पनि व्यवहारमा त्यस्तो कार्यक्रम प्रभावकारी रूपमा तयार तथा कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।

डिभिजन कार्यालयमा नियमित बजेट नजाँदा पुलको नियमित मर्मत हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यसले पुलको संरचनागत क्षति बढाउने, उपयोगी आयु घटाउने र सवारी तथा यात्रुको सुरक्षामा जोखिम बढाउने अवस्था सिर्जना गरेको छ ।

पुलमा समस्या आएपछि एउटा सडक खण्ड मात्रै प्रभावित हुँदैन । वैकल्पिक मार्ग नहुँदा यातायात रोकिन सक्छ । आपूर्ति प्रणाली प्रभावित हुन्छ । स्थानीय उत्पादन बजारसम्म पुग्न सक्दैन । बिरामीलाई अस्पताल लैजानसमेत समस्या आउन सक्छ ।

त्यसैले पुल मर्मतमा गरिएको ढिलाइको आर्थिक र सामाजिक मूल्य सडकको मर्मत खर्चभन्दा धेरै ठूलो हुन सक्छ ।

२७ कर्मचारीको भरमा ठूलो दायित्व

सडक मर्मत व्यवस्थापनमा देखिएको अर्को संरचनागत कमजोरी जनशक्ति हो । महालेखाका अनुसार सडक बोर्डको स्थायी दरबन्दी २७ जना मात्र छ । संघीयतापछि स्थानीय तहको संख्या र जिम्मेवारी बढेको छ । सडक मर्मतसम्भारको दायरा विस्तार भएको छ । तर त्यसअनुसार बोर्डको संस्थागत क्षमता विस्तार हुन सकेको छैन ।

२७ जना स्थायी कर्मचारीबाट देशभरको सडक मर्मतको योजना, बजेट, समन्वय, अनुगमन र व्यवस्थापनको जिम्मेवारी प्रभावकारी रूपमा धान्न कठिन हुने महालेखाको निष्कर्ष छ ।

यसले बजेट खर्च नहुनुको एउटा संरचनागत कारण देखाउँछ । बजेट छुट्याइन्छ । तर योजना छनोट, प्राविधिक मूल्यांकन, ठेक्का व्यवस्थापन, अनुगमन र भुक्तानीसम्म पर्याप्त जनशक्ति तथा संस्थागत क्षमता नहुँदा कार्यान्वयन ढिलो हुन्छ ।

महालेखाले त्यसैले सडक बोर्डको उद्देश्यअनुसार स्पष्ट कार्यक्षेत्र निर्धारण, आवश्यक कर्मचारी व्यवस्थापन र कार्ययोजना निर्माण गर्न सुझाव दिएको छ ।

सडक मर्मतका लागि एकीकृत वार्षिक योजना तयार गरी स्वचालित अनलाइन प्रणालीबाट योजना छनोट गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

यस्तो प्रणालीले सडकको अवस्था, मर्मतको इतिहास, यातायातको चाप, जोखिम र उपलब्ध स्रोतका आधारमा प्राथमिकता निर्धारण गर्न सक्नेछ ।

अहिलेको चुनौती भने योजनाको प्राथमिकता निर्धारणदेखि नै सुरु हुन्छ । पूर्वतयारी पूरा नभएका योजना बजेटमा राखिन्छन् । स्वीकृति ढिलो हुन्छ । ठेक्का प्रक्रिया लम्बिन्छ । काम सुरु हुन समय लाग्छ । अन्तिममा बजेट खर्च गर्न हतार हुन्छ ।

यसरी वर्षको अन्त्यमा हतारहतार खर्च गरिएको रकमले सडकको वास्तविक आवश्यकता पूरा गर्नेभन्दा बजेट खर्च भएको देखाउने जोखिम बढाउँछ ।

महालेखाले त्यसैले पूर्वतयारी सम्पन्न भएका योजनालाई मात्र कार्यक्रममा समावेश गर्न, खरिद तथा निकासा प्रक्रिया सरल बनाउन र कार्यान्वयन गर्ने निकायको क्षमता बढाउन सुझाव दिएको छ ।

सडक सुरक्षाको अवस्था पनि यही कमजोर कार्यान्वयनबाट प्रभावित छ । सडक मर्मतका लागि विनियोजन हुने रकमको सानो हिस्सा मात्रै सडक सुरक्षामा जाने र विनियोजित रकम पनि प्रभावकारी रूपमा खर्च हुन नसकेको महालेखाको निष्कर्ष छ ।

सडक दुर्घटनाको कारण केवल सडकको अवस्था होइन । चालक, सवारी, गति, मौसम र ट्राफिक अनुशासनजस्ता धेरै पक्ष जिम्मेवार हुन्छन् । तर खराब सडकले दुर्घटनाको जोखिम थप्छ भन्ने तथ्यलाई बेवास्ता गर्न मिल्दैन ।

त्यसैले सडक मर्मतको बजेटलाई सडक सुरक्षासँग जोडेर हेर्नुपर्ने हुन्छ । अब प्रश्न सरकारसँग पैसा कति छ भन्ने होइन । छुट्याएको पैसा कति प्रभावकारी रूपमा खर्च भयो र त्यसले सडकको आयु कति बढायो भन्ने हो ।

पाँच वर्षमा करिब ६९ अर्ब रुपैयाँ सडक मर्मतका लागि विनियोजन भइसकेको छ । सडक प्रयोगकर्ताबाट सोही अवधिमा ७५ अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ । तर मर्मतका लागि विनियोजित रकम पूर्ण रूपमा खर्च हुन सकेको छैन ।

त्यसमाथि खर्च भएको रकमको ठूलो हिस्सा सडकको दीर्घकालीन आयु बढाउने आवधिक मर्मतमा पुग्न सकेको छैन । यही कारण सडकमा बारम्बार उही दृश्य दोहोरिन्छ । कालोपत्रे उक्किन्छ, खाल्डा पर्छ, मर्मत हुन्छ, फेरि खाल्डा पर्छ ।

यो चक्र तोड्न अब सडक मर्मतलाई वार्षिक बजेट खर्च गर्ने कार्यक्रम होइन, सडकको जीवनचक्र व्यवस्थापन गर्ने प्रणालीका रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।

त्यसका लागि आवधिक मर्मतलाई प्राथमिकता, सडकको वास्तविक अवस्थाका आधारमा बजेट विनियोजन, बढी भार नियन्त्रण, पुलको नियमित संरक्षण, सडक सुरक्षामा पर्याप्त लगानी, समयमै ठेक्का र भुक्तानी तथा कार्यान्वयन गर्ने निकायको संस्थागत क्षमता विस्तार आवश्यक छ । महालेखाले दिएका सुझावको मूल आशय पनि यही हो ।

सडकमा पैसा थप्दै जानुभन्दा पहिले पैसा कहाँ र कसरी खर्च भइरहेको छ भन्ने हिसाब मिलाउनुपर्ने समय आएको छ । किनकि पाँच वर्षमा ६८ अर्ब ७४ करोड रुपैयाँ विनियोजन भएर पनि सडकको समस्या उस्तै छ भने नेपालको समस्या बजेटको अभाव होइन । बजेटलाई सडकमा बदल्ने प्रणालीको कमजोरी हो ।

2