काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०८२/८३ मा ६ जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीले अवकाश पाएका छन्। उमेरहद, सेवा अवधि र पदावधि पूरा भएपछि उनीहरू बैंक सेवाबाट बाहिरिएका हुन्। राष्ट्र बैंकको पछिल्लो प्रकाशनले पनि नरेश शाक्यसहितका कर्मचारीले २०८३ जेठमा अवकाश पाएको पुष्टि गर्छ।
गत फागुन २४ गते डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश पाएका थिए। उनीहरू २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए।
डा. तिम्सिना २०५४ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक सेवामा प्रवेश गरेकी थिइन्। मिश्रले २०५९ सालमा सहायक निर्देशक पदबाट बैंकिङ सेवा सुरु गरेका थिए।
गत आर्थिक वर्षमा अवकाश पाउने कार्यकारी निर्देशकमा प्रदीप राज पौड्याल, ऋषिकेश भट्ट, डा. गुणाकर भट्ट, विमलराज खनाल, रोशनकुमार सिग्देल र नरेश शाक्य रहेका छन्।
वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीप राज पौड्यालले २०८२ साउन १७ गते ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन्। २०५४ मङ्सिर २२ गते राष्ट्र बैंक सेवामा प्रवेश गरेका पौड्यालले वित्त व्यवस्थापन, मुद्रा व्यवस्थापन, सूचना प्रविधि र गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व सम्हालेका थिए।
त्यसैगरी, वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले २०८२ भदौ १२ गतेदेखि अवकाश पाएका छन्। २०५९ चैत २० गते बैंक सेवामा प्रवेश गरेका भट्टले वित्त व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, सम्पत्ति तथा सेवा व्यवस्थापन र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व गरेका थिए।
कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०८२ कात्तिक ६ गतेदेखि अवकाश पाएका हुन्। २०५७ असार १ गते बैंक सेवामा प्रवेश गरेका उनले सात वर्षे पदावधिका आधारमा अवकाश पाएका हुन्। उनले गभर्नरको कार्यालयसँगै राष्ट्र ऋण व्यवस्थापन, आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था नियमन, बैंक सुपरिवेक्षण र भुक्तानी प्रणाली विभागको नेतृत्व सम्हालेका थिए।
कार्यकारी निर्देशक विमलराज खनालले २०८२ पुस ७ गतेदेखि अवकाश पाएका छन्। २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका खनालले वित्त व्यवस्थापन, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण, आन्तरिक लेखापरीक्षण र लघुवित्त संस्था सुपरिवेक्षण विभागको नेतृत्व गरेका थिए।
कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले २०८२ चैत १८ गतेदेखि अवकाश पाएका छन्। २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका उनले बैंकिङ विभाग र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको नेतृत्व गरेका थिए।
त्यसैगरी, कार्यकारी निर्देशक नरेश शाक्यले २०८३ जेठ ३० गतेदेखि अवकाश पाएका हुन्। २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका शाक्यले लघुवित्त संस्था सुपरिवेक्षण, बैंकिङ, मौद्रिक व्यवस्थापन, मुद्रा व्यवस्थापन, सूचना प्रविधि, मानव संसाधन व्यवस्थापन र आन्तरिक लेखापरीक्षण विभागको नेतृत्व सम्हालेका थिए। उनले सात वर्षे पदावधिका आधारमा अवकाश पाएका हुन्।
राष्ट्र बैंकबाट विभिन्न तहका अन्य कर्मचारीले पनि गत आर्थिक वर्षमा अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका आधारमा बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागका कार्यालय सहयोगी प्रथम हिरा लक्ष्मी नेपाली र साउचा पोडेले २०८२ साउन १ गते अवकाश पाएका थिए।
५८ वर्षे उमेरहदका आधारमा विराटनगर कार्यालयका प्रधान चालक सत्रुघ्न सिङ दनुवारले साउन ५ गते र सिद्धार्थनगर कार्यालयका कार्यालय सहयोगी तृतीय अशोककुमार बर्माले साउन ६ गतेदेखि अवकाश पाएका हुन्।
विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिम्सिनाले असोज २२ गतेदेखि अवकाश पाएका छन्। गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागकी कार्यालय सहयोगी प्रथम गायत्री सापकोटा र वित्तीय जानकारी इकाइकी कार्यालय सहयोगी प्रथम निर्मला अधिकारीले क्रमशः असोज १० र १६ गतेदेखि अवकाश पाएका थिए।
टक्सार महाशाखाका निर्देशक लोकेन्द्रप्रसाद अर्यालले कात्तिक २५ गते र विराटनगर कार्यालयकी कार्यालय सहयोगी तृतीय सुनेच्रीदेवी डोमले मङ्सिर ७ गतेदेखि अवकाश पाएका छन्।
सिद्धार्थनगर कार्यालयका उपनिर्देशक माधवराज ढकालले माघ ३ गते तथा लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक नरेशकुमार अधिकारीले माघ २१ गतेदेखि अवकाश पाएका हुन्।
सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका वरिष्ठ प्लम्बर रामकृष्ण खड्की र गभर्नरको कार्यालयका कार्यालय सहयोगी प्रथम शान्ति नेपालले फागुन ७ गतेदेखि अवकाश पाएका छन्।
कानुन महाशाखाका निर्देशक टेकराज भण्डारीले चैत २९ गते र जनकपुर कार्यालयका कार्यालय सहयोगी प्रथम बाबुलाल वाइबाले चैत ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका थिए।
जेठमा कानुन महाशाखाका उपनिर्देशक प्रह्लाद खड्का, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक धीरेन्द्रकुमार आरसी, प्रधान सहायक पार्वती खरेल र गभर्नरको कार्यालयका कार्यालय सहयोगी तृतीय खिनबहादुर मगरले अवकाश पाएका छन्।
त्यसैगरी, लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक गोविन्दप्रसाद भण्डारीले असार १ गते, बैंक तथा वित्तीय संस्था नियमन विभागकी सहायक मञ्जु माया अधिकारीले असार १० गते र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक रेवतीराज पौडेलले असार २२ गतेदेखि अवकाश पाएका हुन्।
राष्ट्र बैंकका अनुसार उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन्।
यसबीच टक्सार महाशाखाका उपनिर्देशक विष्णुबहादुर श्रेष्ठको गत असार १३ गते उपचारका क्रममा निधन भएको छ। केही महिनादेखि अस्वस्थ रहेका श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भएको हो।
यसरी गत आर्थिक वर्ष राष्ट्र बैंकको जनशक्ति संरचनाबाट उच्च व्यवस्थापनदेखि विभिन्न तहमा कार्यरत ३० जना कर्मचारी बाहिरिएका छन्। विशेषगरी दुई डेपुटी गभर्नर र ६ कार्यकारी निर्देशकको अवकाशसँगै बैंकको नेतृत्व तहमा लामो अनुभव बोकेका अधिकारीको संख्या घटेको छ।
