काठमाडौं । मोबाइल फोन अचानक स्लो हुने, ब्याट्री छिट्टै सकिने वा डेटा सामान्यभन्दा धेरै खपत हुने समस्या देखिएमा त्यसलाई सामान्य रूपमा मात्र लिनु हुँदैन। कहिलेकाहीँ यस्ता समस्या मोबाइलमा मालवेयर वा ह्याकिङको गतिविधिका संकेत पनि हुन सक्छन्।
बीबीसीका अनुसार साइबर अपराधीले मोबाइलमा पहुँच बनाएपछि प्रयोगकर्तालाई थाहा नदिई व्यक्तिगत सूचना, फोटो, सन्देश तथा अन्य संवेदनशील विवरणमा पहुँच बनाउन सक्छन्। त्यसैले फोनको व्यवहारमा अचानक आएको परिवर्तनलाई बेवास्ता नगर्न विज्ञहरूले सुझाव दिएका छन्।
साइबर सुरक्षा कम्पनी नोर्टनका अनुसार मोबाइल सामान्य रूपमा नै प्रयोग गरिरहेको अवस्थामा डेटा अस्वाभाविक रूपमा बढी खपत भइरहेको छ भने त्यसको कारण खोज्नुपर्छ। अत्यधिक डेटा खपत एपको बढी प्रयोगका कारण पनि हुन सक्छ। तर प्रयोगको बानी परिवर्तन नभएको अवस्थामा भने थप जाँच आवश्यक हुन्छ।
त्यस्तै, ब्याट्री सामान्यभन्दा निकै छिटो सकिन थालेको छ भने पनि ध्यान दिनुपर्छ। मोबाइलमा पृष्ठभूमिमा अनधिकृत एप वा अन्य गतिविधि सञ्चालन भइरहेका कारण ब्याट्री बढी खपत हुन सक्छ।
क्यास्परस्कीका अनुसार मोबाइलको प्रोसेसिङ क्षमता अनधिकृत गतिविधिमा प्रयोग हुँदा फोन सुस्त हुन सक्छ। कहिलेकाहीँ फोन आफैँ रिस्टार्ट हुने वा सामान्य रूपमा काम नगर्ने समस्या पनि देखिन सक्छ।
मोबाइलमा आफूले इन्स्टल नगरेका एप देखिनु, नचिनेका नम्बरबाट असामान्य कल वा सन्देश आउनु तथा इमेल र सामाजिक सञ्जालका खातामा आफूले नगरेका गतिविधिको सूचना आउनु पनि सावधानी अपनाउनुपर्ने संकेत हुन्।
साइबर अपराधीले एप, इमेल, म्यासेज, ब्लुटुथ र वाइफाइमार्फत समेत मोबाइलमा आक्रमण गर्न सक्छन्। त्यसैले एप डाउनलोड गर्दा आधिकारिक गुगल प्ले स्टोर वा एप्पल एप स्टोर प्रयोग गर्न तथा अपरिचित व्यक्तिले पठाएको लिंकमा क्लिक नगर्न सुरक्षा विज्ञहरूले सुझाव दिएका छन्।
आवश्यक नभएको अवस्थामा ब्लुटुथ र वाइफाइ बन्द राख्नु, मोबाइलमा पासवर्ड सेभ नगर्नु र अपरेटिङ सिस्टम तथा एपलाई नियमित रूपमा अपडेट गर्नु पनि सुरक्षित रहने आधारभूत उपाय हुन्।
मोबाइल ह्याक भएको शंका लागेमा सबैभन्दा पहिले आफ्ना सम्पर्कमा रहेका व्यक्तिलाई जानकारी दिनुपर्छ। आफ्नो फोनबाट पठाइएका सन्देश वा लिंकमा क्लिक नगर्न उनीहरूलाई सचेत गराउनुपर्छ।
त्यसपछि शंकास्पद एप हटाउने, सुरक्षा सफ्टवेयरबाट मोबाइल स्क्यान गर्ने र आवश्यक परे फोन फ्याक्ट्री रिसेट गर्ने उपाय अपनाउन सकिन्छ। साथै, मोबाइलमा प्रयोग भएका इमेल, सामाजिक सञ्जाल, बैंकिङलगायत महत्वपूर्ण खाताका पासवर्ड तत्काल परिवर्तन गर्नु पनि आवश्यक हुन्छ।
