काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात निकै कमजोर देखिएको छ। साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालू आवको सोही अवधिमा आयात ३१ दशमलव ०४ प्रतिशतले बढेको हो। गत आवको साउनमा नेपालले १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको थियो।
यस वर्ष साउनमा आयात मात्रै ४४ अर्ब रुपैयाँभन्दा बढीले बढेको देखिएको छ। बढ्दो आयातसँगै व्यापार घाटाको दबाब पनि कायम रहेको तथ्यांकले देखाएको छ।
यता निर्याततर्फ भने उल्लेख्य सुधार देखिएको छ। साउनमा नेपालबाट ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु विदेशी बजारमा निर्यात भएका छन्।
गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए। त्यसको तुलनामा चालू आवको साउनमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
निर्यात वृद्धिदर आयातको तुलनामा दोब्बरभन्दा बढी रहे पनि कुल व्यापारमा आयातको हिस्सा अझै निकै ठूलो छ। साउनमा मात्रै आयात र निर्यातबीचको अन्तर करिब १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
यसले निर्यातमा उच्च वृद्धिदर देखिए पनि नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको देखाउँछ। एक महिनाको तथ्यांकमै ठूलो व्यापार घाटा देखिनुले चालू आर्थिक वर्षमा पनि आयातमा निर्भर अर्थतन्त्र र कमजोर निर्यात आधार मुख्य चुनौतीका रूपमा रहने संकेत गरेको छ।
