एजेन्सी । प्राकृतिक ग्यासको चरम अभावले बंगलादेशको उद्योग, विद्युत् आपूर्ति र घरायसी जीवन एकसाथ प्रभावित भएको छ। ग्यास नपाउँदा मल कारखाना बन्द भएका छन्, कपडा उद्योगले उत्पादन घटाएका छन्, विद्युत् कटौती बढेको छ भने खाना पकाउने ग्यासको न्यून दबाबले सर्वसाधारण हैरान छन्। इन्धन अभावकै कारण ग्यासबाट चल्ने सवारी चालकहरू सडकमा उत्रिन थालेका छन्।
बंगलादेशको आशुगञ्ज मल कारखाना यसको गम्भीर उदाहरण बनेको छ। प्राकृतिक ग्यास अभावका कारण मार्च २०२५ देखि बन्द रहेको सरकारी स्वामित्वको यो कारखाना अहिले जीर्ण संरचनामा सीमित भएको छ। कुनै समय दैनिक १ हजार टनभन्दा बढी युरिया मल उत्पादन गर्ने कारखानामा १ हजार २ सयभन्दा बढी कर्मचारी कार्यरत थिए।
आशुगञ्ज कारखाना नजिकै आफ्नो जीवन बिताएका ५९ वर्षीय मोहम्मद बजलुर रसिदका अनुसार अहिले कारखानामा मेसिनको आवाज होइन, जीर्ण संरचना मात्रै देखिन्छ।
“कारखानाको कंकाल मात्र बाँकी छ। यसले आफ्नो प्राण गुमाएको छ,” उनले एएफपीसँग भने।
ग्यास अभावका कारण बंगलादेशका छ प्रमुख युरिया मल कारखाना बन्द वा उत्पादन रोक्न बाध्य भएका छन्। यसले मल उत्पादनमा मात्रै असर पारेको छैन, आगामी कृषि उत्पादन र खाद्य सुरक्षामाथि समेत दबाब बढाएको छ।
ट्रेड युनियन नेता मोहम्मद अबु कौसरका अनुसार कारखाना बन्द हुँदा हजारौं श्रमिक प्रभावित भएका छन्। उनका अनुसार यी उद्योगलाई लामो समय बन्द राख्दा संरचना बिग्रनुका साथै विदेशी मुद्रा खर्च गरेर मल आयात गर्नुपर्ने अवस्था आउन सक्छ।
ग्यास संकटको असर कपडा उद्योगसम्म पुगेको छ। बंगलादेश विश्वकै दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता हो र देशको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा यही क्षेत्रबाट आउँछ। ग्यास अभावका कारण सयौं उद्योगले उत्पादन घटाएका छन् वा सञ्चालन नै रोक्न थालेका छन्।
विद्युत् उत्पादनमा पनि संकट चर्किएको छ। ग्यासमा निर्भर विद्युत् आयोजना पर्याप्त इन्धन नपाउँदा नियमित विद्युत् कटौती हुन थालेको छ। सरकारले विद्युत् बचत गर्न व्यापारिक केन्द्र तथा सपिङ मललाई निर्धारित समयभन्दा अगाडि बन्द गर्नेसम्मका उपाय अघि सारेको छ।
ग्यासबाट विद्युत् उत्पादन, औद्योगिक उत्पादन र क्याप्टिभ पावर प्लान्टले मात्रै बंगलादेशको कुल ग्यास खपतको तीनचौथाइभन्दा बढी हिस्सा ओगट्छन्। घरायसी उपभोक्ताले कुल ग्यास खपतको १० प्रतिशतभन्दा केही बढी मात्र प्रयोग गरे पनि संकटको प्रत्यक्ष मार उनीहरूले समेत खेपिरहेका छन्।
आशुगञ्जकी ५० वर्षीया गृहणी नर्गिस बेगमका अनुसार रातभर ग्यास नआउने समस्या सामान्य बनेको छ।
“हामीले रातभर ग्यासको एक थोपा पनि पाउँदैनौं। कहिलेकाहीं ग्यासको प्रेसर यति कम हुन्छ कि एकैपटक दुईवटा चुल्हो बाल्न सकिँदैन,” उनले भनिन्।
ग्रामीण क्षेत्रका धेरै परिवार ग्यासको विकल्पमा दाउराको चुल्हो प्रयोग गर्न बाध्य भएका छन्। त्यसमाथि विद्युत् कटौतीले गर्मीमा सर्वसाधारणको समस्या थप बढाएको छ।
“बिजुलीको कुनै ग्यारेन्टी छैन। अहिले धेरै गर्मी छ। एकै रातमा तीन चारपटक बिजुली जान्छ,” बेगमले भनिन्।
ग्यासबाट चल्ने रिक्सा चालकसमेत संकटबाट अछुतो छैनन्। इन्धन भर्न घण्टौं लाइनमा बस्नुपर्ने अवस्था आएपछि उनीहरूले सडक अवरुद्ध गरेर विरोधसमेत गरेका छन्।
बंगलादेशको अहिलेको संकट अचानक आएको होइन। सन् २०१८ सम्म प्राकृतिक ग्यासमा ठूलो हदसम्म आत्मनिर्भर रहेको बंगलादेशमा पुराना ग्यास क्षेत्रको उत्पादन घट्दै गयो। अर्कोतर्फ उद्योग, विद्युत् र घरायसी माग निरन्तर बढ्यो। नयाँ ग्यास क्षेत्रको अन्वेषणमा पर्याप्त लगानी नहुँदा उत्पादन र मागबीचको अन्तर फराकिलो बन्दै गयो।
ऊर्जामन्त्री इकबाल हसन महमुद टुकुले अघिल्लो सरकारलाई ग्यास अन्वेषणमा पर्याप्त काम नगरेको आरोप लगाएका छन्।
“अघिल्लो सरकार ग्यास अन्वेषणबाट टाढा रह्यो। आयातमा हाम्रो निर्भरताले हामीलाई यहाँसम्म पुर्याएको छ,” उनले भने।
बंगलादेशले अहिले कतारलगायत मुलुकबाट आयातित तरल प्राकृतिक ग्यासमा निर्भरता बढाएको छ। तर पश्चिम एसियाको युद्ध र हर्मुज जलडमरूमार्फत हुने ढुवानीमा आएको अवरोधले आयातित एलएनजी आपूर्ति थप अस्थिर बनाएको छ।
त्यसमाथि आयातित एलएनजीलाई पुनः ग्यासमा परिणत गर्ने फ्लोटिङ स्टोरेज एन्ड रिग्यासिफिकेसन युनिट प्राविधिक समस्याका कारण बन्द भएपछि आपूर्तिमा थप दबाब परेको छ।
तत्कालीन संकट टार्न सरकारले एलएनजी आयातलाई निरन्तरता दिएको छ। नयाँ टर्मिनलमा लगानी गर्ने योजना पनि अघि बढाइएको छ। तर विज्ञहरूले आयात मात्रै दीर्घकालीन समाधान नभएको भन्दै घरेलु ग्यास अन्वेषण तीव्र बनाउन दबाब दिएका छन्।
ढाका विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक मोहम्मद अनवर हुसेन भुइयाँका अनुसार नयाँ ग्यास इनार खन्न ठूलो लगानी आवश्यक भए पनि त्यसबाट प्राप्त हुने आर्थिक लाभ निकै ठूलो हुन सक्छ।
उनका अनुसार एउटा इनार खन्न करिब १ करोड २० लाखदेखि १ करोड ६० लाख अमेरिकी डलर खर्च लाग्न सक्छ। तर त्यसबाट उत्पादन हुने ग्यासको मूल्य करिब ४ अर्ब ५० करोडदेखि ४ अर्ब ९० करोड डलरसम्म पुग्न सक्छ।
सरकारले दुईवटा ड्रिलिङ रिग खरिद गर्ने योजना बनाएको छ। समुद्री क्षेत्रमा ग्यास अन्वेषणका लागि बोलपत्रसमेत आह्वान गरिएको छ।
तर सरकारी तेल तथा ग्यास संस्था पेट्रोबांग्लाका अध्यक्ष मोहम्मद अब्दुल मन्नानका अनुसार बंगलादेशले दीर्घकालीन रूपमा ग्यासमा निर्भरता घटाउनैपर्छ।
“हामी नवीकरणीय ऊर्जातर्फ मोडिएपछि ग्यास संकट समाधान हुनेछ,” उनले भने।
बंगलादेशका लागि अहिलेको चुनौती ग्यासको तत्काल आपूर्ति मात्रै होइन, पुराना ग्यास क्षेत्रको घट्दो उत्पादन, आयातमाथिको बढ्दो निर्भरता र उद्योगको ऊर्जा मागबीच सन्तुलन कायम गर्नु हो। तत्काल नयाँ स्रोत नखोजिए संकट मल कारखाना र उद्योगबाट बाहिर निस्केर खाद्य सुरक्षा, विद्युत् आपूर्ति र सर्वसाधारणको दैनिक जीवनमै अझ गहिरो गरी पस्ने जोखिम बढेको छ।
