काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको छ। प्राप्तिपछि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार भदौ २१ गतेदेखि सञ्चालन हुने भएको छ।
‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्न आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। प्राप्तिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति समेत प्राप्त भइसकेको छ।
प्राप्तिपछि विन नेपाल लघुवित्तको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वको जिम्मेवारी स्वरोजगार लघुवित्तले लिनेछ। अब दुवै संस्थाको कारोबार एउटै संस्थाको नामबाट सञ्चालन हुनेछ।
एकीकृत कारोबार भदौ २१ गते आइतबारदेखि सुरु गर्ने तयारी गरिएको छ। एकीकृत कारोबार सुरु गर्ने प्रयोजनका लागि उक्त दिन दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ।
संस्थाले सेवाग्राही, सेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालालाई सेवा बन्द रहने विषयमा आवश्यक जानकारी गराएको छ।
प्राप्तिपछि संस्थाको नाम भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ।
