काठमाडौं । सरकारले जनस्वास्थ्य, निर्वाचन, शान्ति मिसनका सामग्री तथा विदेशबाट फिर्ता ल्याइएका पुरातात्त्विक सम्पदासहित २६ प्रकारका वस्तु, सेवा तथा उपकरणको पैठारीमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, दस्तुर तथा अन्य सम्पूर्ण शुल्क शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।
सरकारले स्वास्थ्य क्षेत्रका अत्यावश्यक औषधि तथा उपकरणदेखि प्रतिनिधि सभा निर्वाचनमा प्रयोग हुने सुरक्षा सामग्री, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फिर्ता ल्याइएका बन्दोबस्तीका सामान र अमेरिकाबाट नेपाल ल्याइएका ऐतिहासिक मूर्तिसम्मलाई कर छुटको दायरामा राखेको हो ।
प्रसूति र परिवार नियोजन सामग्रीमा छुट
जनस्वास्थ्य तथा मातृत्व सुरक्षालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय साझेदार संस्थाबाट प्राप्त प्रसूति तथा परिवार नियोजनसम्बन्धी सामग्रीमा सरकारले पूर्ण कर छुट दिएको छ ।
परिवार कल्याण महाशाखा टेकुका लागि आयात गरिएका २४ हजार ४५६.५८ अमेरिकी डलर बराबरका सुरक्षित प्रसूति सेवा उपकरण, ८ हजार ४२४ अमेरिकी डलर मूल्यका २७० वटा नवजात शिशु सघन उपचारसम्बन्धी ‘सक्सन क्यानिस्टर होल्डर’ तथा १२ लाख ४१ हजार १० अमेरिकी डलर बराबरका डिम्पल मेड्रोक्सीप्रोजेस्टेरोन एसिटेट सिरिन्ज, जाडेल इम्प्लान्ट र कन्डममा लाग्ने सम्पूर्ण कर मिनाहा गरिएको छ ।
त्यस्तै, बर्थिङ सेन्टर सञ्चालनका लागि प्राप्त १८ हजार ८०३.५७ अमेरिकी डलर बराबरका औजार, ७४ हजार २१५.८० अमेरिकी डलर बराबरको सायनाप्रेस इन्जेक्सन तथा फिस्टुला मर्मत किट र ४ लाख ५१ हजार ९९१.२८ अमेरिकी डलर बराबरका ओरल पिल्स, कन्डम तथा डिपो सामग्रीमा पनि भन्सार तथा अन्य शुल्क छुट गरिएको छ ।
औषधि र पोषण सामग्री पनि करमुक्त
बालबालिकाको पोषण तथा सरुवा रोग नियन्त्रणका लागि वैदेशिक अनुदानमा प्राप्त औषधि तथा पोषण सामग्रीमा समेत शतप्रतिशत राजस्व छुट दिइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालमार्फत विद्यालयका विद्यार्थीलाई वितरण गर्न प्राप्त १ लाख ११ हजार ९०० अमेरिकी डलर बराबरको अल्बेन्डाजोल ४०० मिलिग्राममा कर छुट दिइएको छ ।
यस्तै, युनिसेफ नेपालबाट प्राप्त ५६ हजार १८.८८ अमेरिकी डलर र ११ हजार ९८३.६८ युरो बराबरका भिटामिन ‘ए’ सफ्ट जेल क्याप्सुल तथा कुपोषित बालबालिकाका लागि उपचारात्मक दूधमा पनि सम्पूर्ण कर मिनाहा गरिएको छ ।
शीघ्र कुपोषण व्यवस्थापनका लागि प्राप्त १० हजार वटा उपचारात्मक पोषक आहारको ३ लाख ८० हजार अमेरिकी डलर तथा थप ५ लाख ७० हजार १७० अमेरिकी डलर बराबरका पोषण सामग्रीमा पनि कुनै कर नलाग्ने व्यवस्था गरिएको छ ।
महामारी तथा गम्भीर रोग नियन्त्रणका लागि आवश्यक प्रयोगशाला किट र औषधिमा पनि सरकारको छुट लागू भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका लागि डब्ल्यूएचओबाट प्राप्त जापानी इन्सेफलाइटिस, दादुरा, रुबेला तथा डेङ्गु परीक्षण किटमा भन्सार शुल्क र भ्याट छुट गरिएको छ ।
कालाजार उपचारका लागि प्राप्त ६५ हजार अमेरिकी डलर मूल्यका ४०० वटा लिपोसोमल एम्फोटेरिसिन तथा ४० हजार ५०० अमेरिकी डलर बराबरको रेबिज खोपमा समेत पूर्ण कर छुट दिइएको छ ।
फिलेरिया सर्वेका लागि प्राप्त ५४ हजार २१० अमेरिकी डलर बराबरका ‘फिलेरियल टेस्ट स्ट्रिप्स’ तथा कालाजार र मलेरिया नियन्त्रणका लागि प्राप्त १ लाख ३६७.४९ अमेरिकी डलर मूल्यको कीटनाशकयुक्त कागजमा पनि सम्पूर्ण महसुल छुट भएको छ ।
टीबी र एचआईभीका औषधिमा छुट
स्वास्थ्य मन्त्रालय र यूएनडीपीको संयुक्त आयोजनामा सञ्चालित ग्लोबल फण्ड कार्यक्रमअन्तर्गत आयात हुने जटिल रोगका औषधि तथा प्रयोगशाला सामग्रीलाई पनि कर छुट दिइएको छ ।
क्षयरोग नियन्त्रणका लागि प्राप्त १८ हजार ८८१.४४ अमेरिकी डलर बराबरको मोक्सिफ्लोक्सासिन ४०० मिलिग्राम ट्याब्लेटमा पूर्ण कर छुट गरिएको छ ।
त्यस्तै, एड्स तथा एचआईभी नियन्त्रणका लागि प्राप्त १ लाख १५ हजार ४३२.१६ अमेरिकी डलर बराबरका एचआईभी भाइरल लोड परीक्षण रिएजेन्ट, १९ हजार ४२५ अमेरिकी डलर मूल्यको ‘आइसेन्ट्रेस ४०० मिलिग्राम’ ट्याब्लेट तथा २० हजार ८३७.३८ अमेरिकी डलर बराबरको लोपिनाभिर/रिटोनाभिरमा समेत भन्सार, दस्तुर र अन्य शुल्क मिनाहा गरिएको छ ।
निर्वाचनदेखि शान्ति मिसनसम्म छुट
प्रतिनिधि सभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट अनुदानस्वरूप प्राप्त सुरक्षा सामग्रीमा पनि शतप्रतिशत राजस्व छुट दिइएको छ ।
भारतबाट अनुदानमा प्राप्त ५३८ सवारी साधनमध्ये सीमा क्षेत्रमा दुर्घटनामा परेको एक महिन्द्रा स्कोर्पियो पिकअपको सट्टा भारत सरकारले ७ लाख ४३ हजार ६४५.७९ भारतीय रुपैयाँ सोधभर्ना गरी पठाएको नयाँ सवारी साधनमा समेत महसुल छुट दिइएको छ ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली शान्ति सैनिकको संख्या घटेपछि मिसनबाट नेपाल फिर्ता ल्याइएका बन्दोबस्तीका सामग्रीमा पनि भन्सार शुल्क मिनाहा गरिएको छ ।
‘स्क्यान ग्लोबल लजिस्टिक’मार्फत फिर्ता ल्याइएका २६ लाख २० हजार ८६ अमेरिकी डलर मूल्यका १५ वटा गाडी, एक ट्रेलर र दुई कन्टेनरमा कर छुट दिइएको छ । यूएनआईएसएफए मिसनबाट फिर्ता ल्याइएका ७६ लाख ७ हजार १३८.६६ अमेरिकी डलर बराबरका २३ वटा गाडी, १३ वटा कन्टेनर, चार वटा ट्रेलर र छ वटा जेनेरेटरमा पनि सम्पूर्ण महसुल तथा कर छुट गरिएको छ ।
अमेरिकाबाट फर्किए दुई पुरातात्त्विक मूर्ति
सरकारले अमेरिकाबाट नेपाल फिर्ता ल्याइएका दुई बहुमूल्य ऐतिहासिक मूर्तिमा पनि सम्पूर्ण भन्सार तथा कर छुट दिएको छ ।
न्युयोर्क डिस्ट्रिक्ट एटोर्नीको अधीनमा रहेका १३औँ शताब्दीमा निर्मित तामामा सुनको जलप लगाइएको पद्मपाणि लोकेश्वर र १६औँ शताब्दीमा निर्मित काठको नृत्यदेवीको मूर्ति नेपाल फिर्ता ल्याइएको हो ।
पद्मपाणि लोकेश्वरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २५ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नृत्यदेवीको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २ लाख अमेरिकी डलर रहेको छ ।
नेवाः गुठी न्युयोर्कको आर्थिक सहयोग र नेपाली महावाणिज्य दूतावासको समन्वयमा यी दुवै मूर्ति २०८३ असार १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो ।
नेपाल फिर्ता ल्याइएका मूर्ति पुरातत्त्व विभागले बुझिलिने भएकाले तिनको भन्सार जाँचपासमा पनि सरकारले पूर्ण राजस्व छुट दिएको हो ।
यसरी सरकारले एकैपटक जनस्वास्थ्यका अत्यावश्यक औषधि तथा उपकरण, पोषण सामग्री, निर्वाचन सामग्री, शान्ति मिसनका सामान र विदेशबाट फिर्ता ल्याइएका सांस्कृतिक सम्पदालाई कर छुटको दायरामा राखेको छ । छुटको मुख्य उद्देश्य सार्वजनिक स्वास्थ्य, निर्वाचन व्यवस्थापन, अन्तर्राष्ट्रिय दायित्वअन्तर्गतका सामग्रीको व्यवस्थापन तथा नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र पुनप्राप्तिलाई सहज बनाउनु रहेको छ ।
